छठ पर्व: सामूहिक पूजामा रोकपछि झकिझकाउ हुने मोहना नदी किनार सुनसान
धनगढी: धनगढीका विशाल शर्मासहित ४ जना युवा विहिबार मोहना नदीको छठी घाटमा टोलाइरहेका थिए।
विगतका वर्षमा छठ पर्वमा दुलही झैँसिँगारिने मोहना नदीको छठी घाटमा रमाएका उनीहरु सुनसान देखेपछि निराश मुद्रामा थिए ।
विशालले भने ‘गत वर्ष यहाँ निकै रौनक थियो । यो वर्ष त सुनसान छ । पूजा गर्न पाइन्छ कि, पाइन्न भनेर बुवा र बाजे प्रशासन कार्यालय बुझ्न जानु भएको छ।’
स्थानीय प्रशासनले कोरोना संक्रमण फैलिने भन्दै सामूहिक पूजापाठमा रोक लगाएपछि हरेक वर्ष छठमा सिंगारिने कैलालीको धनगढी मोहना नदी घाट सुनसान भएको हो ।
छठ पूजा सेवा समिति धनगढीले हरेक वर्ष मोहना छठी घाटमा धार्मिक तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको थियो।
कार्यक्रम अनुसार अघिल्लो दिन (शुक्रबार) साँझपख अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि राति मोहना छठी घाटमा जाग्राम बस्थे र बिहानको उदाउँदो सूर्यलाई अर्घ दिइ पूजा गर्दै आएका थिए ।
तर कोरोना कहरले चालु वर्ष छठ पर्व प्रभावित भएको छ । पूजा अब औपचारिकतामा मात्र सीमित हुने देखिएको छ ।
धनगढी उपमहानगरपालिका १ का चिरित्र शाहले विगतको जस्तो कार्यक्रम नभएपछि साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने र अर्कोदिन उदाउँदो सूर्यलाई अर्घ दिएर पर्व समापन गर्ने बताए ।
स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा अनुसार भीडभाड नगरेर पर्व मनाउने उनीहरुको भनाइ छ ।
छठ पूजा सेवा समिति धनगढीका अध्यक्ष सन्तोष मण्डल धानुकले विगतको वर्षमा ४० हजारको संख्यामा सामूहिक रुपमा मोहना घाटमा पूजा गरेको तर यो वर्ष २ हजार जना पूजामा सहभागी हुने बताए ।
कैलालीको स्थानीय प्रशासनले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर औपचारिक रूपमा पुजा गर्न आग्रह गरेको छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सुरक्षाको मापदण्ड अनुसार पर्व मनाउन आग्रह गरिएको बताए ।
नेपालको तराई मधेश क्षेत्रमा बसोबास गर्ने खासगरी हिन्दू समुदायले कार्तिक शुक्ल षष्ठी तिथिमाआराध्यदेव सूर्यको उपासना गरेर नदीनाला तथा तलाउमा गएर छठ पर्व मनाउने प्रचलन रहिआएको छ।
हिजोआज छठ पर्व नेपालको तराई मधेश बाहिरका पहाडी क्षेत्रहरूमा समेत मनाउन थालेको पाइएको छ।