डोटीबाट मनोरोगी महिलाको उद्धार गरी मानव सेवा आश्रममा ल्याइयो
धनगढी: डोटीबाट एक मनोरोगी महिलाको उद्धार गरेर धनगढीको मानव सेवा आश्रममा ल्याइएको छ । विगत १० वर्षदेखि मानसिक सन्तुलन गुमाएकी उनको डोटी सिलगढीबाट उद्धार गरिएको हो ।
दिपायल सिलगढी नगरपालिका स्थायी घर भएकी ३७ वर्षीया कुसुम केसीलाई उद्धार गरेर आवश्यक संरक्षण र उपचारका लागि आश्रममा राखिएको छ । केसीलाई कैलाली दैनिक पत्रिकाका प्रवन्ध निर्देशक गणेश भण्डारीको पहलमा उनका दाईले ल्याएको आश्रमले जनाएको छ ।
लामो समयदेखि बर्बराएर सडक पेटीहरुमा डुलिरहने उनी आफ्नो स्याहार समेत गर्न नसक्ने अवस्थामा रहेको आश्रमले जानकारी दिएको छ । साथै आश्रमले केसीलाई छिट्टै तन्दरुस्त बनाएर परिवारसँग पुर्नरमिलन गराउने विश्वास लिएको छ ।
केसीसहित अब मानवसेवा आश्रम कैलाली शाखामा आश्रय लिनेको संख्या ३६ पुगेको छ । जसमध्ये ३ जना बालबालिका, १७ जना महिला र बाँकी १६ जना पुरुष रहेको मावब सेवा आश्रम कैलालीका जिल्ला संयोजक अच्युत घिमिरेले बताए ।
आश्रममा आउने असाहयलाई नियमित मानसिक रोग सम्बन्धी चिकित्सकबाट उपचार गराइरहेको उनले बताए। ‘महिनामा एकपटक चिकित्सकलाई बोलाएर सबैको चेकजाँच गर्नेगरेका छौ र उहाँले भनेअनुसार नै मनोरोगीलाई औषधि दिने गरेका छौ’ उनले भने, ‘औषधिभन्दा पनि आश्रममा पाउने माया र प्रेमले मनोरोगीहरु छिट्टै ठिक हुने गरेका छन् ।’
२०६९ सालमा मकवानपुरको हेटौँडाबाट सुरु गरिएको मानव सेवा आश्रमका अहिले ७ वटै प्रदेशमा २१ शाखा रहेका छन् । अहिले देशभरीका शाखामा करिब ११ सय जनाले आश्रय लिइरहेको बताइएको छ ।