सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा नदी तथा पोखरीमा सामूहिक रुपमा छठ मनाउन नपाईने

२०७७ मंसिर ४, ०८:११ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा नदी तथा पोखरीमा जम्मा भइ सामूहिक रुपमा छठ पर्व मनाउन नपाईने भएको छ ।

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर सामूहिक रुपमा भेला भइ छठ पर्व मनाउन रोक लगाईएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले बताए ।

‘कोरोना संक्रमणको जोखिमका कारण नदी तथा पोखरीमा सामूहिक जमघट हुन रोक लगाएका छौँ ।’ वरिष्ठ प्रहरी उपरीक्षक सिहले भने, ‘घरमै सुरक्षित रहेका छठ पर्व मनाउन आग्रह गरिएको छ ।’

तराई क्षेत्रमा हर्षोल्लासका साथ मनाइदै आएको छठ पर्व कैलाली र कञ्चनपुरमा पनि वर्षेनी मनाउने गरिन्छ । छठ पर्वमा धनगढीको मोहना घाट दुलहीझै सजाइने भएपनि स्थानीय प्रशासनले रोक लगाएपनि सुनसान बनेको छ ।

कात्तिक शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ छठ पर्व मनाउने गरिन्छ । सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो दिन ब्रतालुले हातगोडाका नङ काटेर स्नान गर्दै चोखोनितो खाएर व्रत संकल्प गर्दछन् ।

 त्यसैगरी दोस्रो दिन पञ्चमी तिथिका दिन दिनभरि निराहार व्रत उपासना गरेर राति सक्खर हालेर पकाइएको अरवा चामलको खिरमात्र इष्टदेवलाई चढाएर परिवारजनसहित प्रसादस्वरुप खाने गर्छन् । दोस्रो दिनको यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।

पर्वको मुख्य दिन षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै सूर्यदेवलाई अर्घ दिइन्छ । यसक्रममा ठकुवा, भुसुवा (कसार), अन्य मिष्ठान्न परिकार, केरा, दहीसहितका सामग्री सूर्यलाई देखाइन्छ ।

यो विधिलाई ‘सझुका अरख’ भनिन्छ । षष्ठीको रात सूर्यदेव र षष्ठीमाता (सूर्यदेवकी पत्नी) को आराधना गर्दै घाटमै रात बिताउने चलन छ । तर यसपालि भने कोरोना संक्रमणको जोखिमले ब्रतालुले घरआँगनमै व्रत विधि सम्पन्न गर्ने तयारी गरेका छन् ।

पर्वको अन्तिम अर्थात् सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत सम्पन्न गरिन्छ ।

मिथिलामा अन्तिम दिनको विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।पर्व सम्पन्न भएसँगै ब्रतालुले घर फर्केर (घाट जानेहरु) ब्राह्मण, गरिब, आशामुखीलाई अन्नदान गरी भोजन गर्दछन् ।

 

कमेन्ट लोड गर्नुस