कतारका राजकुमारको टोली अमादब्लमको चुचुरोमा
काठमाडौँ : कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लाले छ हजार ८१४ मिटर अग्लो अमादब्लम हिमालको सफल आरोहण गरेका छन् ।
राजकुमार शेख मोहम्मदसहित १३ सदस्यीय टोलीले आज विहान ११ः२० बजे आमादब्लमको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ । विभागको पर्वतारोहण शाखाका प्रमुखसमेत रहेकी निर्देशक मीरा आचार्यले शेख मोहम्मदसहितको टोलीले अमादब्लमको आरोहण गरेको पुष्टि गरीन् । यससँगै अमादब्लम हिमालमा अटम सिजनको पहिलो आरोहण भएको पनि उनले उल्लेख गरिन् ।
उक्त आरोहणको व्यवस्थापन हिमालयन गाइड्सले गरेको हो । राजकुमारसहितको आरोही टोलीमा ६ आरोही सदस्य थिए । यसमा केही अमेरिकी र क्यानेडियन आरोही पनि सहभागी थिए । विभागलाई अमादब्ल्म हिमालमा खटिएका सम्पर्क अधिकृतले जनाएअनुसार ६ विदेशी र सात जना नेपालीले सफल आरोहण गरेको बताइएको छ ।
यसअघि बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहितको रोयल फोर्सको टोलीले आठ हजार १६३ मिटरको मनास्लु हिमाल चढेर कात्तिक पहिलो साता स्वदेश फर्किएको थियो । विभागको पछिल्लो विवरणअनुसार अटम सिजनको आरोहणका लागि हालसम्म सात आरोही दललाई आरोहण अनुमति प्रदान गरिएको छ ।
आरोहणबाट कूल ३३ लाख ७४ हजार ८२ रोयल्टी सङ्कलन भएको छ । यो याममा आरोहण अनुमति लिएका हिमालमा मनास्लुमा दुई, अमादब्लम दुई तथा बरुत्सेमा एक, ग्याल्जेनमा एक र हिम्लुङमा दुई आरोही टोली छन् ।