कर्णाली चिसापानी पुल : उद्यमशीलता र पर्यटकीय सम्भाव्यता
जनकराज भट्ट
गरिबी न्यूनीकरणको लागि नेपालमा थुप्रै माध्यमहरु हुन सक्छन्, त्यो मध्येको पर्यटन पनि एक हो । पर्यटनले एकातिर देशलाई अझै सुन्दर बनाउन सहयोग गर्छ भने अर्कोतिर स्थानीय स्तरमै रोजगारी सृजना गर्छ । पर्यटन एउटा यस्तो व्यवसाय हो, जसका लागि बेरोजगारले अन्त जानुपर्दैन कि रोजगारी त्यही ठाउँमा आफैं आइ पुग्छ । गोजीमा पैसा बोकेका मान्छेहरु देश विदेशबाट आउँछन् । तिनको गोजीबाट तिनलाई खुसी पारेर र वैध काम गरेर पैसा आफ्नो गोजीमा पार्ने हो । कतिपय देशहरुको मुख्य आयस्रोत नै पर्यटन छ ।
पर्यटनको लागि हामीसंंग प्रशस्त मात्रामा नदी, नाला, वनजंगल, हिमाल पर्वत, भीर पहरा, डाँडाकाँडा, गल्छी छहरा आदि प्राकृतिक चीज वस्तुहरु छन् । हामीले कृतिम वस्तुहरु (कतिपय देशमा कृतिम पहाड, कृतिम नदी, कृतिम छहरा, कृतिम ताल, कृतिमभीर, कृतिम गल्छी आदि बनाएर पर्यटकलाई आकर्षित गर्ने गरिन्छ) बनाएर पर्यटकहरुलाई आकर्षित गर्नै पर्दैन । प्रकृतिले हामीलाई उत्कृष्ट स्तरका प्राकृतिक सम्पदाहरु प्रदान गरेको छ । मात्र हामीहरुले तिनीहरुलाई परिचालन गर्नु पर्ने आवश्यकता छ । उद्यमशीलता भनेको हात खुट्टा कम र दिमाग बढी चलाउने कुरा हो । गरिबीले सवभन्दा बढी पिरोलेको र युवाहरु बढी विदेशिएको तर अत्यन्त पर्यटकीय संभावना बोकेको सुदूरपश्चिम र कर्णालीमा उद्यमशीलता विकास गरी गरिबी न्यूनीकरण गर्न सकिने एउटा उदाहरण लिउँ, कर्णाली चिसापानीको पुल ।
कर्णाली चिसापानी पुल
कैलालीको चिसापानीबाट बर्दिया जिल्लाको बर्दिया वन्यजन्तु आरक्ष जोड्ने कर्णाली नदीको पुल बन्नुभन्दा पहिले समग्र सुदूरपश्चिम देशको बाँकी भूभाग सँग भौतिक मात्र होइन भावनात्मक रुपमा पनि आज जत्तिको जोडिएको थिएन भन्दा हुन्छ । जब वि.सं. २०५० साल मंसिर २८ गतेका दिन तत्कालीन प्रधानमन्त्री स्व.गिरिजा प्रसाद कोइरालाले यस पुलको उद्घाटन गर्नु भयो, त्यही दिनदेखि सुदूरपश्चिमले केही ‘सुदूरता’ गुमायो । अर्थात् राजधानीलगायत बाँकी पूर्वी भाग संग गाँसिन पुग्यो । कर्णालीमा गाडी गुड्ने देशकै नमूना पुल बनेपछि यस क्षेत्रले काँचुली फे¥यो । यातायातको लागि त यसले सुदूरपश्चिमलाई देशको पूर्वी भाग संग जोड्ने अमूल्य योगदान दिएको छ नै । तर यस क्षेत्रका जनताले अझै यस पुलबाट पर्यटन विकासमा टेवा पु¥याउने गरी फाइदा उठाउन सकेका छैनन्, त्यसै सम्बन्धमा केही सम्भावित उद्यम व्यवसायहरुको यहाँ चर्चा गर्न चाहन्छु ।
१. कतिपय यात्रुहरु गाडीबाट ओर्लेर यस पुलमा फोटो खिच्ने गर्छन्, कतिपय मान्छेहरु यही पुललाई नै केन्द्रित गरी चिसापानी घुम्न आउँछन् अतः यस पुलको छेउछाउमा (चिसापनाी क्षेत्रमा) कम्तीमा पनि ५ जना फोटोग्राफरहरु जस्ले तुरुन्तै फोटो प्रिण्ट गरी दिन सकुन ्फोटोग्राफी व्यवसाय राम्रो चल्ने संभावना छ । (५ जनालाई रोजगारी)
२. त्यो फोटोग्राफरको छेवैमा फोटो फ्रेमिंग गर्ने कम्तिमा पनि ५ जनाको फोटो फ्रेमिंग व्यवसाय पनि चल्न सक्छ, जस्ले उक्त फोटो र कर्णाली पुलको मात्र फोटो पनि तयार पारेर फ्रेमिङ्ग गरेरराखेका हुनेछन् । (५ जनालाई रोजगारी)
३. कतिपय मान्छेहरु वनभोज गर्न र घुमफिर गर्न कर्णाली चिसापानी आउँछन् त्यसैले कम्तिमा पनि पाँच वटा वनभोज स्थल (picnic spot) चल्न सक्ने संभावना छ । यस्तो वनभोज स्थल जस्को छेउछाउमा बाँस निगालोबाट बनेका सुन्दर वस्तुहरु उत्पादन भै राखोस्, बाबियो, अल्लो, भाँगो, केराको थुम जस्ता रेशाबाट बनेका सुन्दर वस्तुहरु (gift items) उपलब्ध हुन सकुन्,साथै अचार उत्पादन, दूधजन्य पदार्थ, सुकेको माछा, मासुको सुकुटी उपलब्ध होस् । भ्रमण गर्नेएउटा समूहमा कम्तिमा पनि ५ जनादेखि बढीमा ५० जनासम्मको टोली हुन्छ । (२० जना लघु उद्यमीलाई रोजगारी)
४. त्यस्ता चार पाँच टोलीहरुलाई विभिन्न परिकारहरु खुवाउने र रात बिताउन चाहने पर्यटकलाई वासको पनि व्यवस्था गर्ने हो, भने यस हिसाबले कम्तिमा पनि एउटा वनभोज स्थलले २० जना कामदारलाई प्रत्यक्ष रोजगारी दिन सक्छ । (२०×५ = १०० जनालाई रोजगारी)
५. ती पर्यटकहरु रमाउन र पैसा खर्च गर्न आएका हुन्छन्, आफ्नो भ्रमणलाई सम्झना योग्य (memoroable) बनाउन चाहन्छन् । अतः तिनीहरुलाई मूख्य सडकबाट घोडामा चढाएर मालालगाएर वनभोज स्थल (picnic spot) सम्म लग्ने हो भने कम्तिमा पनि एउटा वनभोजस्थलले १० का दरले भए पनि ५० वटा घोडाले काम पाए । राति ती घोडाहरुलाई विश्राम गर्नको लागि तबेला (Stable) चाहिला । एउटा तबेलामा १० वटा घोडाहरु बाध्न मिल्ने गरी भए पनि ५ वटा तबेला चाहिएला । उक्त तबेला धनीले प्रति घोडा रू. ५० लिएर दैनिक रू.५०० र मासिक रू. १५,००० कमाउन सक्छ । (५ जनालाई रोजगारी)
६. ५० घोडाले काम पाउनु भनेको ५० जना घोडिया (घोडा चलाउने मान्छे ले पनि काम पाउनु हो । (५० जनालाई रोजगारी)
७. ती घोडाहरुले घाँस र दाना पानी खालान् कम्तीमा पनि ५० घोडाहरुलाई घाँस र दाना ख्वाउन दैनिक १० जनाले पनि रोजगारी पाउने भए । (१० जनालाई रोजगारी)
८. ती घोडाहरु कहिले काँही बिरामी पर्लान्, तिन्लाई औषधी मूलो पनि गर्नु पर्ला । यसको लागि कम्तिमा २ वटा एग्रोभेट पसल पनि चाहिन्छन् । (२ जनालाई रोजगारी)
९. मैले प्रत्येक घोडामा सवारी गर्ने पर्यटकलाई फूलमाला लगाएर वनभोज स्थल (picnic spot) सम्म लैजाने कुरा गरे । यसको लागि कम्तिमा पनि दैनिक रुपमा ५०० वटा माला चाहिन्छन् । ती ५०० वटा मालाहरु घरमा बसी–बसी अपांगहरु (भिन्न क्षमता भएकाहरु)ले बनाउन सक्छन् । यसमा कम्तिमा पनि १० जनाभिन्न क्षमता भएका मान्छेहरुले रोजगारी पाउँछन् । (१० जनालाई रोजगारी)
१०. दैनिक ५०० वटा मालाको लागि फूलको खेती गर्ने हो भने कम्तिमा पनि १० विगाहा जग्गा चाहिन्छ । पाँच कट्ठाका दरले जग्गा पाएका मुक्तकमैयाहरुलाई यसमा आवद्ध गराउने हो भने ४० परिवारको जग्गामा व्यावसायिक पुष्प खेती हुने भयो । प्रति परिवार १ जनालाई मात्रै पनि त्यसमा संलग्न गराउने हो भने पनि ४० जनाले प्रत्यक्ष रोजगारी पाए । (४० जनालाई रोजगारी)
११. घर फर्केर जाँदा ती ५०० जना पर्यटक मध्ये २०० जनाले मात्र पनि कम्तिमा रू. १०० बराबरको कर्णाली भ्रमणको चिनो ९न्षत ष्तझ० किनेर लग्ने हो भने दैनिक रू.बीस हजारको लघु उद्यमबाट बनेका वस्तुहरुको कारोबार हुन सक्ने भयो । मासिक रुपमा हेर्ने हो भने रू. ६ लाख । कम्तिमा पनि ६ जना लघु उद्यमीहरु मासिक एक लाख कारोबारको गर्ने वातावरण तयार हुन्छ । (६ जनालाई रोजगारी)
१२. ती ५०० जना पर्यटकको लागि खाना पकाउन दैनिक रुपमा खाद्यान्न, तरकारी, दाउरा, दही दूध घ्यू, माछा मासु चाहिएला, कसैले मद्यपान गर्छन् भने त्यो पनि चाहिएला, माछा मासु नखानेको लागि फलफूल चाहिएला । ती सबै आपूर्ति गर्ने मान्छेहरुले पनि रोजगारी पाए । एउटा वनभोज स्थलसँग १० जना मात्र पनि संलग्न हुने हो भने ५ वटा वनभोज स्थलमा ५० जना आवश्यक हुने भए । (५० जनालाई रोजगारी)
१३. ती मान्छेहरु कर्णाली चिसापानीको छेउछाउका मात्र होइनन् जो पैदल आउलान् । टाढा–टाढाबाट आउनको लागि यातायातका साधनहरु चाहिएलान् । ती यातायातका साधनहरुको लागि इन्धन चाहिएला, बिग्रेपछि मर्मत गर्नुपर्ला त्यसैले यातायात व्यवसायी र तिनका कामदारले पनि रोजगारी पाउने भए । पेट्रोल पम्पवालाहरुको पनि राम्रै आम्दानी हुन सक्ने भयो । गाडी बिग्रेपछि ग्यारेजमा मर्मत संभार गर्नु पर्ला ग्यारेजवालाले पनि काम पाउने भए । (२५ वटा हाइस गाडी × २ जना कर्मचारी र अन्य १० गरी ६० जनालाई रोजगारी)
१४. ती ५०० जना मध्ये केही सामान्य नै भए पनि बिरामी पर्लान्, कम्तिमा गाडीमा यात्रा गर्दा टाउको दुखेको औषधी त किन्लान् । त्यसैले २ वटा औषधी पसल चाहिएलान् । (२ जनालाई रोजगारी)
१५. ती ५०० जनाले चिसो पेय पदार्थ अथवा चिया कफी, दूध, दही वा लस्सी, कुल्फी (मौसमअनुसार) खालान्, त्यसको लागि कम्तिमा पनि १० वटा यस्ता पसल आवश्यक हुन्छ । (१०जनालाई रोजगारी)
१६. ती वनभोज स्थलहरु नजिक एउटा मन्दिर हुने हो भने ती ५०० जना मध्ये कम्तिमा १००जनाले पनि मन्दिरमा दर्शन गरेर रू. १० भगवानलाई भेटी चढाउने हो भने पनि रू.एक हजार प्रति दिन मन्दिरमा आम्दानी हुने भयो । बसी–बसी मासिकरुपमा ३० हजार रुपैयाँ कमाउन पाएपछि त्यो मन्दिरका २ जना पुजारीको पनि गरिबी न्यूनीकरण हुने भयो । (२जनालाई रोजगारी)
१७. उक्त क्षेत्रमा नेपालको विभिन्न क्षेत्रका व्यक्तिहरुको आकर्षण हुने भएकोले विभिन्न जातजातिको भेषभुषा झल्काउने पहिरन भाडामा उपलब्ध गराउन सकेको खण्डमा (दार्जिलिङ्गतिरको जस्तै पर्यटकहरु यस भ्रमणलाई अझ सम्झन योग्य (memorable) बनाउन सक्छन् । अतः यस्तापोषाक र वेषभुषा भाडामा उपलब्ध गराउने कम्तिमा पनि १० वटा पसल आवश्यक पर्दछन् । (१० जनालाई रोजगारी)
१८. अहिलेलाई हामीले दैनिक ५०० जना पर्यटक (आन्तरिक र बाह्य गरी) मात्रको लक्ष्य लिएका छौं । अतः ती ५०० जना पर्यटकमध्ये कतिपयलाई त पथ प्रदर्शक (Tourist Guide) को पनि आवश्यकता पर्ला । अहिलेलाई कम्तिमा पनि १० जना पथप्रदर्शकको लक्ष्य राखौं । (१०जनालाई रोजगारी)
१९. त्यसरी आउने पर्यटकहरुका स–साना बालबालिकाहरु पनि होलान् तिनीहरुको मनोरन्जनको लागि कम्तिमा पनि ५ वटा बाल उद्यानहरु (Child Fun Park) वनभोज स्थल नजिकै आवश्यक पर्लान् । ती ५ वटा बाल उद्यानहरुको सञ्चालन र व्यवस्थापनमा प्रति उद्यान ५ जनासम्म जनशक्ति आवश्यक पर्ला । (२५ जनालाई रोजगारी)
२०. माथि हामीले वयस्क व्यक्तिहरुको लागि कर्णालीको चिनो अथवा उपहार त भन्यौ तर बालउद्यानहरु (Child Fun Park) मा खेल्ने यी स–साना नानीहरुलाई त आफु सुहाउँदो (ChildFriendly) खेलौनाहरु आवश्यक पर्ला । प्रत्येक उद्यान छेउछाउमा कम्तिमा पनि ५ जनाखेलौना बिक्रेताको आवश्यकता देखिन्छ । (२५ जनालाई रोजगारी)
२१. चाहे त्यो आन्तरिक होस् वा बाह्य पर्यटक कर्णाली घुम्न आउने मान्छेले कर्णालीमा डुङ्गा सयर (Boating) गरेन भने के कर्णाली घुमेको भयो र ? अतः कर्णाली छेउ छाउमा सयर गर्न डुङ्गाहरु प्नि उपलब्ध हुनेछन् । शुरुमा १० वटा डुङ्गा सञ्चालन मात्रको योजना बनाऔं । कम्तिमा पनि एउटा डुङ्गामा १० जनाले बस्न मिल्ने गरिएको होस् । एउटा डुङ्गा चलाउन २ जना चालक र यात्रुलाई टिकेट, लाइफ ज्याकेट आदि उपलब्ध गराउन, ओराल्न बसाल्न आदिमा २ जना गरी प्रति डुङ्गा ४ जनाका दरले जनशक्ति चाहिन्छ । (४० जनालाई रोजगारी)
२२. त्यतिका व्यवसायीले राज्यलाई कर तिर्नेछन् र राज्यले पनि केही समाज कल्याण र सुरक्षाको प्रत्याभूति हुने कामहरु गरि दिनुपर्ने हुन्छ । अतः राज्यको तर्फबाट गोताखोर (Divers) हरुको व्यवस्था गरिनु पर्छ । कम्तिमा पनि १० जना गोताखोर आवश्यक हुन्छन् । (१० जनालाई रोजगारी)
२३. यस प्रकार कर्णाली पुललाई पर्यटकीय गन्तव्य स्थल (Tourist Destination) मानेर हामीहरुले आ– आफ्नो योग्यता र क्षमताले भ्याउने माथि उल्लेख गरिएका व्यवसायहरु गर्ने हो भने कम्तिमा पनि ४९७ जनाले अर्थात् लगभग पाँच सय जनाले प्रत्यक्ष र १,५०० जनाले अप्रत्यक्ष रोजगारी पाउन सक्ने देखिन्छ । अझ विभिन्न प्रकारका साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरेर धेरै जना स्थानीय कलाकारहरुले समेत रोजगारी पाउन सक्छन् । यी माथिका मध्ये धेरैव्यवसायीहरुले केही न केही रुपमा सरकारलाई कर पनि तिर्नु पर्ने हुन्छ, जस बापत सरकारले मासिक रुपमा राम्रो कर पनि असुली गर्नेछ । त्यस बापतको उसले विभिन्न सञ्चार माध्यमहरुबाट पर्यटन प्रबध्र्दनको लागि विज्ञापन गरेर व्यवसायीहरुलाई सहयोग गर्न सक्छ । एकीकृत रुपमा उद्यमशीलतामार्फत गरिबी न्यूनीकरण गरी रोजगारी सृजना गर्ने यो एउटा नमूना मात्र हो । यस्ता र यस भन्दा धेरै राम्रा अरु उदाहरणहरु पनि हुन सक्छन् । तर एउटै कुरा ध्यानमा के राख्नु प¥यो भने, “गरे के हुँदैन, अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने, यहाँ नगरेकहाँ गर्ने ?”
प्रेरक भनाई : And innovation and entrepreneurship is the opportunity and best opportunity we have togrow the economy. - Jerry Moran
लेखक भट्टको “उद्यमशीलता विकासद्वारा गरिबी” “उद्यमशीलता विकासद्वारा गरिबी न्यूनीकरण” नामक प्रकाशित पुस्तकको अंश