सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा हुलाकी सडक स्तरबृद्धिको काम सुरु, कुन ठाउँमा कस्तो बन्दैछ ?

२०७७ कार्तिक २४, ११:२३ कमल सावद

धनगढी : कैलालीमा ठेक्का सम्झौता भएको ४ महिनापछि हुलाकी सडक स्तरबृद्धिको काम अगाडी बढेको छ । हुलाकी सडक स्तर बृद्धिका लागि गत असारमा ठेक्का सम्झौता भए पनि शुक्रबारदेखि काम थालिएको हो ।

हुलाकी सडक खण्डको धनगढीमा ३ किलोमिटरलाई ४ लेनमा स्तरबृद्धि गर्ने योजना रहेको छ । सम्झौता अनुसार आगामी ३० महिनाभित्र स्तरबृद्धिको काम सम्पन्न गरिनेछ ।  धनगढीको क्याम्पस चौकदेखि मनहेरा (कालिका मन्दिर) सम्मको ३ किलोमिटर ४ लेन  र बाँकी ४१ किलोमिटर हुलाकी सडक २ लेनमा स्तरबृद्धिको काम सुरु भएको छ । हुलाकी सडक निर्देशनालय र निर्माण कम्पनीबीच गत असार १४ गते ठेक्का सम्झौता भएकोमा ४ महिनापछि मात्र काम सुरु भएको हो ।

मुख्य हुलाकी सडक ४४ किलोमिटर र लम्की–टीकापुर लिङ्क सडक २९.७ किलोमिटर स्तरबृद्धिको काम सुरु भएको योजना कार्यालयले बताएको छ । लम्की–टीकापुर सडक खण्डमा समेत साढे १० किलोमिटर ४ लेनको सडक निर्माण हुने हुलाकी सडक योजना कार्यालय धनगढीका इन्जिनीयर पदमबहादुर मडैले बताए ।
उनले भने, ‘धनगढीमा सडक निर्माणको काम सुरु भएको छ । लम्कीमा दशै पहिलेदेखि नै काम हुँदैछ । धनगढीमा ३ र लम्की–टीकापुरमा झण्डै साढे १० किलोमिटर ४ लेनको सडक निर्माण हुँदै छ ।’

धनगढी–सत्ती ६० किलोमिटर सडक भारत सरकारले साँघुरो र न्यून गुणस्तरको निर्माण गरेको थियो । हुलाकी सडकमा सवारी चाप बृद्धि भएको र साँघुरो र खाल्डै–खाल्डा भएको सडकका कारण दुर्घटनाको जोखिम बढेकोे भन्दै हुलाकी सडक निर्देशनालयले स्तरबृद्धिका लागि ३० महिनाको ठेक्का सम्झौता गरेको छ ।
‘लम्की–टीकापुरमा कालोपत्रे खोज्नुपर्ने अवस्था छ । सडक कालोपत्रे भएपनि सबै उप्किएको छ । ग्रावेल जस्तै छ । हुलाकीमा समेत धेरै ठाउँमा उप्किएको छ । साँघुरो पनि छ’ उनले भने । 

धनगढीदेखि कटैनीसम्मको ३१ किलोमिटर र कान्द्रा नदीदेखि सत्तीसम्मको १३ किलोमिटर सडक गरी ४४ किलोमिटर स्वच्छनन्द–जोशी जेभी र लम्कीमा ८ किलोमिटर कालिका–कुमार जेभी, १८ किलोमिटर एपेक्स–खड्का–कृष्ण जेभी  र ७ सय ४१ मिटर राईमाझी–जलवा–जगदम्बा जेभीले सडक निर्माणको ठेक्का पाएको छ । लम्की–टीकापुर–सत्ती २९ किलोमिटर सडक खण्डको काम दशैँदेखि नै सुरु भएको दावी गरिएको छ । 

सडकको क्षेत्राधिकार ३० मिटर कायम भएकाले धनगढी क्षेत्र बनेका संचरना हटाइएको छ । १२ मिटर सडकमा ७ मिटर चौडाई कलोपत्रे गरिने छ । ४ लेनमा बीचमा २ मिटरको मिडिएम र ७/७ मिटरको कालोपत्रे गरिने छ । साढे २ मिटरको फुटपात समेत निर्माण हुने छ ।
बस्ती भएको क्षेत्रमा नाली समेत निर्माण हुनेछ । डु्बान हुने क्षेत्रमा कलभर्ट समेत थपिने छन् । 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस