कैलालीमा जनप्रतिनिधिको अश्लील कुराकानीको अडियो बाहिरिएपछि हलचल !
धनगढीः कैलालीमा निर्वाचित जनप्रतिनिधिबीच भएका अन्तरंग कुराकानीको अडियो बाहिरिएको छ । जिल्लाको चुरे गाउँपालिका वडा नम्बर १ का वडा सदस्य पदम धामी र दलित महिला वडा सदस्य बिर्मा नेपालीबीच भएको अन्तरंग कुराकानीको अडियो बाहिरिएपछि अहिले चुरेमा हलचल मचिएको छ ।
निर्वाचित जनप्रतिनिधि नै अनैतिक गतिविधिमा लागेको भन्दै प्रतिपक्षी दलहरुले प्रेस वक्तव्य नै जारी गर्दै कारवाहीको माग गरेका छन् । नेपाली काँग्रेस चुरे गाउँ कार्य समितिको कार्यालयले १८ कार्तिकमा विज्ञप्ती जारी गर्दै निर्वाचित जनप्रतिनिधिबीच भएका अश्लिल कुराकानीको अडियोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
‘चुरे गाउँपालिका अन्तरगत वडा नम्बर १ का जननिर्वाचित प्रतिनिधिहरुको अश्लिल यौन काण्डका कुराहरुको अडियोका साथै विभिन्न सञ्चार माध्यम तथा पत्रपत्रिकामा प्रशारण भएका समाचारप्रति नेपाली काँग्रेस चुरे गाउँ कार्य समितिको गम्भिर ध्यानाकर्षण भएको छ । ’
सहसभापति हेमबहादुर शाहद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘उक्त घटना सामाजिक तथा सांस्कृतिक मर्यादा विपरित हुने भएकाले समाज सेवामा संलग्न जनप्रतिनिधि तथा राजनीतिकर्मीप्रति जनताको सोच र चिन्तनमा प्रत्यक्ष नकारात्मक असर पर्न जाने भएकोले सत्यतथ्य विवरण सार्वजनिक गर्न नेपाली काँग्रेस चुरे गाउँ कार्य समिति जोडदार अपिल गर्दछ ।’
यस्तै सोही घटनालाई लिएर विज्ञप्ती जारी गर्दैै राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले दुवै जनालाई कारवाही गर्न माग गरेको छ । जनमोर्चाका चुरे गाउँ कमिटि संयोजक अृमत धामी र समाजवादी पार्टीका गाउँ कमिटि उपाध्यक्ष निर्मला बलामीले संयुक्त विज्ञप्ती जारी गर्र्दै दुवै जनालाई वडा सदस्यबाट पदमुक्त गर्न माग गरिएको छ ।
‘जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरुले जनताको न्यायोचित सेवा गर्नुको सट्टा उल्टै सामाजिक लज्जाबोध गरिरहदा निजहरुको हर्कतलाई निरुत्साहित गर्न कारवाही गर्नुको सट्टा चुरे गाउँ सरकार र निज संलग्न राजनीतिक दल नेकपाले उक्त अपराधलाई ढाकछोप गरिहेकाले उक्त सरकार र पार्टीले समयमै निजहरुलाई कारवाही गरी दुवैलाई वडा सदस्यबाट समेत पदमुक्त गरी नैतिकता र विधिको शासन स्थापना गराउन माग गर्दछौँ’ जारी विज्ञप्तीमा भनिएको छ ।
२ जनाबीच चलेको झण्डै ४ घण्टा लामो संवादमा अन्तरंग कुराकानी भएको सुनिन्छ । सोही विषयमा प्रतिक्रिया माग्न उनीहरुलाई सम्पर्क गर्दां दुवै जनाका फोन स्वीच अफ हुँदा कुराकानी हुन सकेन । तर गत महिना अन द स्पोट न्युज नामक युटुब च्यानललाई दिएको अन्तरवार्तामा वडा सदस्य धामी र नेपालीले बाहिर सार्वजनिक भएको अडियो आफूहरुको नै भएको स्वीकार गरेका छन् ।
‘त्यो लगभग ५/७ महिना अगाडीको कुरा हो । २ जना बाटोको निरीक्षण गर्न गएका थियौँ । बाटोमा हिड्दै जाँदाखेरी देवरभाउजुको मजाक भएकै कुरा हो,’ धामीले भनेका छन्, ‘अरु गलत केही पनि छैन् । मुखले बोलिएका कुरा हुन् ।’
सोही च्यानललाई दिएको अन्तरवार्तामा वडा सदस्य नेपालीले पनि आफूहरुकै संवाद भएको स्वीकार गरेकी छन् । उनले छोरीको मोबाइल भएकाले भिडियो हाल्ने क्रममा अडियो बाहिर आउट भएको बताएकी छन् ।
‘रोड र डाँडाको फोटा लिदाखेरी उहाँले अनेक शब्द बोल्नुभयो । मैले त्यतिकै मोबाइल खल्तीमा हाले अनि रेकर्ड भयो’ उनले भनेकी छन् ।