भारतीय सीमावर्ती बजार चन्दनचौकीमा नेपालीहरुको ओहोरदोहोर बढ्यो, प्रहरी मुग्दर्शक
धनगढी : कैलालीको कैलारी गाउँपालिका संग जोडिएको सीमावर्ती भारतीय बजार चन्दनचौकी बजारमा नेपालीहरुको ओहोरदोहोर बढेको छ ।
कोरोना कहरपछि सरकारले भारत संगको सीमामा ओहोरदोहोरमा कडाइ गरेपनि हाल सो चन्दनचौकी बजारमा सामान्य अवस्थामा जस्तै किनमेल गर्नेहरुको ओहोरदोहोर बढेको हो । तिहार नजिकीएपछि चन्दनचौकी बजार जोड्ने नेपाली वस्ती मोहनपुर, शिवरत्नपुर हुँदै किनमेल गर्नेहरुको ओहोरदोहोर बढेको जनाइएको छ ।
कैलारी गाउँपालिकाका ३ का स्थानीयका अनुसार पछिल्लो ३ दिनयता सो नाका भएर सामान्य अवस्थामा झै नेपाली र भारतीयहरुको ओहोरदोहोर बढेको छ । नेपालीहरु धमाधम सो बजारबाट दैनिक उपभोग्य वस्तु, मेसनरी औजारलगायत वस्तुहरु खरिद बिक्रीका लागि जान थालेको बताइएको छ । यसरी हुने अनियन्त्रित दोहोरदोहोरले कोरोनाको जोखिम निकै बढेको स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
तर त्यही नाकालाई लक्षित गरी कैलारी गाउँपालिका ३ मा स्थापित सशस्त्र प्रहरीको बिओपी क्याम्प भने मुग्दर्शन बनेको स्थानीयको आरोप छ । स्थानीयले प्रहरीकै अगाडीबाट खुल्लम्खुल्ला ओहोरदोहोर बढेको बताएका छन् ।
यसैबीच कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सो नाकामा लगत्तै कडाइ गर्ने दिनेश खबरलाई बताए । कोरोना जोखिमप्रति आमनागरिक जिम्मेवार बन्नुपर्ने बताउँदै प्रजिअ बोहराले ओहोरदोहोर नियन्त्रण गर्न प्रहरीलाई निर्देशन दिएको जानकारी दिए ।