सुदूरपश्चिममा कोरोनासंग खेँलाची, बढ्यो मृत्युदर
धनगढी :शुक्रबार कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नरेन्द्रबहादुर शाहको कोरोना संक्रमणबाट मृत्यु भयो । सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत वडा अध्यक्ष शाहको कोरोनाका कारण मृत्यु भएको हो ।
अहिले स्थायी बसोबास गौरीगंगामै रहेका शाहको पुख्र्यौली घर अछाम हो । दशैंका बेला पहाडमा पुजा गर्न अछाम पुगेका उनलाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मात्र अस्पताल भर्ना गरिएको उनका छोरा सौरभ शाहले बताए ।
‘सुरुमा सामान्य रुखाखोकी लागेजस्तो भयो, आज ठीक होला भोलि ठीक होला भन्ने लाग्यो,’ उनले भने, ‘सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा कोरोनासमेत पोजेटिभ देखायो । चेकजाँच गर्दा निमोनिया पनि भयो ।’
भेन्टिलेटरमा राखेर उपचार गराइरहेका शाहको स्वास्थ्य अवस्था गम्भीर भएपछि मात्र अस्पताल आउँदा बचाउन नसकिएको चिकित्सकहरुको भनाइ छ । सेती प्रादेशिक अस्पतालमै उपचाररत कैलालीको गोदावरी नगारपालिका ओलानीका ३० वर्षीया महिलाको कोरोना संक्रमणका कारण १५/२० दिन अगाडी मृत्यु भएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि मात्र ती महिलालाई अस्पताल भर्ना गरिएको थियो ।
उपचारकै क्रममा परीक्षण गराउँदा संक्रमण पुष्टि भएको उनका देवार दीपक परियारले बताए । ‘दम लाग्न थालेपछि मात्रै अस्पताल लगेका हौं’, उनले भने ‘अस्पताल ल्याउनु पुर्व नै कोरोना संक्रमण भई निमोनिया भएको कुरा अस्पताल आएपछि मात्रै थाहा भयो ।’
यी २ प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो समय लक्षण देखिएका भन्दा पनि अवस्था गम्भीर भएपछि मात्र अस्पताल ल्याउने परिपाटीले दुर्घटना निम्त्याउदै आएको छ । सरकारले नै गम्भीर अवस्था नभएसम्म अस्पताल नआउन निर्देशन दिएपछि कोरोनालाई सामान्य रुपमा लिदा संक्रमणबाट मृत्यु हुने क्रम बढेको हो ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार हालसम्म सुदूरपश्चिममा कोरोनाको कारण २५ जनाको मृत्यु भएको छ । पछिल्लो समय त मौसमी रुघाखोकी र कोरोनाका लक्षण मिल्दाजुल्दा हुने भएकाले धेरैले संक्रमण भएको÷नभएको पहिचान गर्न समेत सकिरहेका छैनन् ।
तर संक्रमण हुन नदिन स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्न र कुनै खालको शंका लागेमा चिकित्सकको सल्लाह लिन आग्रह गरिएको छ ।
‘कोरोना नै हो भन्ने त लक्षण हेरेर नै हो,’ सेती प्रादेशिक अस्पतालका फिजिसिएन डा. शेरबहादुर कमरले भने, ‘शंका कसलाई गर्ने भन्ने अन्योलता देखिएकाले सावधानी अपनाउन आवश्यक छ ।’