माटो जोडाइबाट जयवागेश्वरी मन्दिर पुनः निर्माण गरिने
काठमाडौँ : भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर माटोको जोडाइबाट पुनः निर्माण हुने भएको छ ।
विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले क्षतिग्रस्त मन्दिर पुनः निर्माणका लागि भत्काउने क्रममा मन्दिरभित्र भैरवलगायत विभिन्न देवी देवताका चित्र र तीन गजुरको मन्दिरलगायत संरचना भेटिएपछि पुरातत्वविद् तथा संस्कृतिविद्लगायत विज्ञको समिति गठन गरी निर्माणबारे सुझाव मागिएको थियो ।
समितिले माटोको जोडाइबाट मन्दिर पुनःनिर्माण गर्नुपर्ने सिफारिशसहितको प्रतिवेदन दिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । मन्दिर पुनःनिर्माणका लागि चुना सुर्कीको लागत स्टमेटसहित कोषले २०७५ माघमा तुलसी कन्स्ट्रक्सनसँग दुई वर्षमा पुनःनिर्माण सक्ने गरी सम्झौता गरिएको थियो ।
पुरातत्व विभागका महानिर्देशक एवं विज्ञ समितिका सदस्य दामोदर गौतम ऐतिहासिक र पुरातात्विक महत्वका पहिले प्रयोग भएकै निर्माण सामग्री प्रयोग गरेर बनाउनुपर्ने कानूनी व्यवस्थानुसार कोषलाई सुझाव दिइएको बताउँछन् । माटोको जोडाइबाट पुनःनिर्माण गर्दा भित्र भेटिएका चित्र फेरि राख्न सकिने विज्ञहरुको भनाइ छ ।
सो प्रतिवेदन अनुसार कोषले यसअघि माटोको जोडाइबाट बनाइएका मन्दिरको अध्ययन सुरु गरेको छ । साँखुस्थित बज्रयोगिनी मन्दिरमा इट्टाको बीचमा राखिएको माटोको परीक्षण भइरहेको कोषका प्रशासकीय अधिकृत सीताराम रिसालले बताए । इट्टा जोड्न उपयुक्त गुणस्तरीय माटोको खोजी गरिने कोषले जनाएको छ ।
कूल तीन करोड १४ लाखमा जयवागेश्वरी मन्दिर पुनः निर्माण हुनेछ । विश्व सम्पदा सूचीमा सूचीकृत स्थलमा पर्ने भएकाले प्राचीन स्मारक संरक्षण ऐन अनुसार यहाँ पुनः निर्माणको काम हुनेछ । भूकम्पपछिको एक महिना नबित्दै कोषले २०७२ जेठ ४ गते एड्भेन्चर टुर एण्ड ट्राभलका सञ्चालक कल्याण शर्मालाई पुनःनिर्माणको सैद्धान्तिक स्वीकृति दिएकामा काम सुरु नभएपछि २०७४ सालमा सम्झौता रद्द भएको थियो ।
शर्माले शुरुमा पुरातत्वले नक्सा र डिजाइन स्वीकृत गर्न समय लगाएको र स्वीकृत भएर पुनःनिर्माण शुरु गर्दा स्थानीयवासीले अवरोध गरेकाले आफू पछि हट्न बाध्य भएको जिकिर गरे । भत्किएको साँढे पाँच वर्ष बितिसक्दा पनि पुनः निर्माण नभएकाले स्थानीयवासीसहित आफूहरुले कोषमा ध्यानाकर्षण गराउने काठमाडौँ महानगरपालिका–८ का सदस्य विवेक सङ्गतले बताए ।
सती प्रथा रहुञ्जेल राजा महाराजाको निधनमा सती जाने रानीहरुको गरगहना सबै जयवागेश्वरीलाई चढाइने गरिएको पौराणिक भनाइ छ । चढाइएका गहनालगायत सम्पत्तिको कुनै अभिलेख नरहेको कोषका पूर्व सदस्य सचिव एवं संस्कृतिविद् डा गोविन्द टण्डनले बताए ।
पशुपति क्षेत्रमा रहेका ५१८ स्मारकमध्ये ९५ वटामा भूकम्पले क्षति पु¥याएको थियो भने १५ सम्पदा पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए । पूर्ण क्षति भएका सम्पदामध्ये हालसम्म १० र आंशिक क्षति भएकामध्ये ४५ गरी कुल ५५ सम्पदा बनाइएको निर्देशक भरत मरासिनीले जानकारी दिए । जयवागेश्वरीको निर्माण कलिगत संवत् ३२३२ मा शुरु भएर ४७ वर्षपछि ३२७४ मा सम्पन्न भएको थियो । विसं १९९० को भूकम्पले क्षति पुगेको मन्दिर त्यसबेला जीर्णोद्धार गरिएको थियो ।
मन्दिरको कलेबर १२/१२ वर्षमा फेर्ने गरिएको छ । कलेवर फेर्दा जगवागेश्वरी, गणेश र भैरवको माटाको नयाँ मूर्ति बनाइन्छ । जयवागेश्वरीमा टाउको काटिनुअघिको गणेशको मूर्ति रहेको छ । यसैले यहाँको गणेशको मूर्तिमा सूँढ नभएको स्थानीय सन्देश मुनिकारले बताए ।
जयवागेश्वरीलाई महासरस्वती, महाकाली र महालक्ष्मीका रुपमा मानिए पनि विद्याकी देवीका रुपमा बढी पुज्ने गरिएको छ । तन्त्र साधना गर्नेले अन्तिममा जयवागेश्वरीमै आएर पूजा गर्ने परम्परा छ । मन्दिरसँगै सुन्धारा पनि स्थापना भएकामा हाल यसको अस्तित्व लोप हुने अवस्थामा पुगेको छ । जयवागेश्वरीको ठीक अघि तलेजु भवानीको मन्दिर स्थापना गरिएको छ ।
जयवागेश्वरी उपत्यकाको पुरानो राजधानी मानिन्छ । स्थानीयवासी मुनिकार ‘गोल’ भनिने जयवागेश्वरी उपत्यकाकै पहिलो बस्ती भएको बताउँछन् । यो बस्तीमा नौथरी जात, नौ पोखरी, नौ पाटी, नौ ढोका लगायत संरचना रहेकामा यो पनि लोपोन्मुखको अवस्थामा पुगेको छ ।
गोपाल र किराँत शासनकालको राजधानी जयवागेश्वरी थियो । लिच्छविकालको राजधानी यहीँबाट सुरु भएर पछि हाँडीगाउँमा सरेको हो । मल्लकालमा हाँडीगाउँबाट हनुमानढोकामा राजधानी सारिएको थियो । भूकम्पले अति प्रभावित २० जिल्लामा ८९१ सम्पदामा क्षति पुगेका मध्ये हालसम्म ५५४ वटाको पुनः निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले जानकारी दिए ।
कात्तिक मसान्तसम्म थप नौ सम्पदा पुनःनिर्माण सम्पन्न हुने प्राधिकरणले जनाएको छ ।