सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा निर्माण हुने सुख्खा बन्दरगाह शुभारम्भको चर्चा, स्थान अझै छनौट भएन !

२०७७ कार्तिक २१, ०७:३६ जनक विष्ट

धनगढीः कञ्चनपुरमा निर्माण हुने सुख्खा बन्दरगाह शुभारम्भ गरिएको चर्चा चलेपनि स्थान समेत छनौट हुन नसकेको खुलेको छ । नेपाल सरकारले २०६४ सालमा कञ्चनपुरको साविक दोधारा गाविसको कन्जभोजमा सुख्ख बन्दरगाह निर्माण गर्ने प्रस्ताव गरेको भएपनि अहिले आएर उक्त स्थान स्थगीत गरेको छ ।

भारतीय पक्षकै आग्रहमा यसअघि प्रस्ताव गरिएको कन्जभोज क्षेत्र स्थगित भएपछि सुख्खा बन्दरगाह बन्ने अर्को स्थानको अन्तिम टुङ्गो लाग्न नसकेको हो । तर यसअघि नै हेरिएका मायापुरी र गौरीशंकर क्षेत्रमा बन्दरगाह निर्माणका लागि प्रस्ताव गर्ने तयारी उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सह सचिव प्रकाश दाहालको नेतृत्वमा गठित प्राविधिक टोलीको छ ।

प्राविधिक टोली प्रमुख समेत रहेका सह सचिव दाहालले औपचारिक रुपमा अझै सुख्खा बन्दरगाह निर्माण स्थलको टुङ्गो लाग्न नसकेको बताए । तर प्राविधिक टोलले अध्ययन गर्दा मायापुरी क्षेत्र उपयुक्त देखिएपनि औपचारिक रुपमा प्रस्ताव गर्न बाँकी रहेको दाहाल बताउँछन् ।

‘हाम्रो प्राविधिक टोलीका सदस्यहरुले घुमेर फिल्ड पनि हेर्नुभयो । त्यो हेर्दाखेरी ठाउँ उपयुक्त छ भन्ने निष्कर्षमा पुग्यौँ ।’ अध्ययन टोली प्रमुख दाहालले भने, ‘विस्तृत अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन बुझाउँछौँ । त्यसपछि मात्र टुङ्गो लाग्छ । अहिले औपचारिक रुपमा ठाउँ छनौट भइसकेको छैन् । ’

भारतीय पक्षले यसअघि खटिमासँग सहज पहुँच हुने भएकाले कन्जभोज क्षेत्र प्रस्तावित गरिएको दावी मन्त्रालयको छ । तर अहिले भने सुख्खा बन्दरगाहसम्म भारतीय रेल मार्ग भएर सामान आयात हुने भएकाले भारतले पहुँच क्षेत्र वनबासा नजीकबाट दिएको छ ।

वनबासा नजीक गडीकोट भएर भारतलाई सुख्खा बन्दरगाहसम्म आउन ४ किलोमिटर पहुँच मार्ग चाहिने देखिएको छ । कञ्जभोजमा खटिमाबाट पहुँच दिन भारतलाई १२  किलोमिटर पहुँच मार्ग बनाउनुपर्ने थियो । त्यसमा पनि १० किलोमिटर वन क्षेत्र पर्ने भएपछि भारतले प्राविधिक कारण देखाउँदै वनबासा नजीकबाट पहुँच दिन लागेको छ । सोही अनुसार मायापुरी र गौरीशंकर क्षेत्र नजिक पर्ने भएकाले प्रस्ताव गर्दै प्राविधिक अध्ययन भइरहेको दावी गरिएको छ ।

अध्ययनपछि समितिले प्रतिवेदन बुझाउने छ। उक्त प्रतिवेदनअनुसार भारतीय पक्ष पनि सहमत भएपछि मात्र अन्य प्रक्रिया थालिने टोली प्रमुख दाहालले बताए ।  उनले प्राविधिक दृष्टिकोण, लागत, पूर्वाधार निर्माण लगायतका कोणबाट मायापुरी क्षेत्र नै उपयुक्त हुने दावी मन्त्रालयको छ ।

‘निर्माणाधिन ४ लेनको महाकाली पुल, पूर्वपश्चिम रेलवे स्टेशन र भारतको वनबासाबाट आउँन समेत झण्डै साढे ४ किलोमिटर मात्र पर्ने हुँदा त्यो ठाउँ उपयुक्त छ भन्ने बुझाई छ ।’  उनले भने । तर  बन्दरगाह निर्माण हुने चर्चा चलेको १३ वर्ष सम्म पनि कुनै प्रक्रिया अगाडी नबढेका बेला स्थान नै परिवर्तन हुने भएपछि फेरी पनि बन्दरगाहको सपना आशामै सिमित हुने चिन्ता बढेको छ ।

पहुँच मार्ग र अन्य दृष्टिकोणबाट अहिले प्रस्ताव गरिएको स्थान उपयुक्त भएपनि निर्माणको प्रक्रियाले गति लिनेमा भने कञ्चनपुरका व्यवसायी विश्वस्त नरहेको देखिएको छ । उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष जंगबहादुर मल्लले कन्जभोज भन्दा अहिले प्रस्ताव गरिएको क्षेत्र उचित भएपनि निर्माणको कार्य अगाडी बढ्नेमा विश्वस्त नरहेको बताए ।

‘आर्थिक र चाडो हुने हिसाबले अहिले टुङ्गो लागेको ठाउँ ठीक छ ’ मल्लले भने, ‘जब सम्म भारतीय पक्षबाट सहमती लिएर काम सुरु हुँदैन् । तब सम्म हामी पनि विश्वस्त छैनौँ ।’ विगतमा सांसद एवंम् मन्त्रीहरु स्थलगत अवलोकनका लागि आउने÷जाने र सचिवलाई जिम्मा दिदै ठाउँ परिवर्तन गरिरहने प्रवृत्ति फेरी पनि दोहोरिने आशंका व्यवसायीहरुमा छ ।

स्थानीय तहका जनप्रतिनिधीहरुले समेत सुख्खा बन्दरगाह निर्माण गर्ने भनी छनौट गरी अध्ययन थालिएको स्थान वन क्षेत्रमा पर्ने भएकाले गति पाउनेमा आशावादी नरहेको प्रतिक्रिया दिएका छन् । महाकाली नगरपालिकाका मेयर बीरबहादुर सुनार मायापुरी र शंकरपुर क्षेत्रमा बन्दरगाह निर्माणका लागि वन क्षेत्र बाधक हुने बताउँछन् ।

‘औपचारिक रुपमा बन्दरगाह निर्माण स्थलको टुङ्गो लागेको छैन् । तर मायापुरी र शंकपुर क्षेत्रमा बनाउने भन्ने कुरा आएको छ । त्यो मध्यवर्ती क्षेत्र भएकाले वनले सहमती दिन्छ की दिदैन् । ’ उनले भने । तर मन्त्रालयले भने अहिले प्रस्ताव गरिएकै क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण गर्न भारत समेत सकारात्मक रहेको दावी गरेको छ ।  

मायापुरी र गौरीशंकर क्षेत्रमा करिब ७ सय ३४ बिगाहा क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण गर्न प्राविधिक टोलीले अध्ययन गरिरहेको जनाएको छ । केही दिन पहिले प्राविधिक टोलीसँगै कञ्चनपुर पुगेका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले समेत सुख्खा बन्दरगाह निर्माण हुने भनिएको क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए । सो क्रममा बन्दरगाह निर्माणको शुभारम्भ गरिएको चर्चा पनि चलेको थियो ।  

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस