डडेल्धुराको चिरकिट्टे डाँडामा पानी घट्ट
डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–३ को निकै उचाईमा रहेको चिरकिट्टे डाँडामा पानी घट्ट संचालनमा आएको छ । महाभारत क्षेत्रमा पर्ने उक्त डाँडामा लेकबाट पानी ल्याएर स्थानीयले पानी घट्ट संचालनमा ल्याएका हुन ।
अधिकांश बस्ती डाँडामै रहेकोमा घण्टौँ हिँडेर खोला छेउ रहेका पानी घट्टमा गएर कुटानीपिसानी गर्ने स्थानीयलाई गाउँमै घट्ट सञ्चालनमा आएपछि सहज भएको छ । भर्खरै सडक र विद्युतको पहुँच पुगेको उक्त ठाउँका स्थानीयललाई यसअघि गहुँ, कोदो र मकै कुटानीपिसानी गर्न समस्या हुने गरेको थियो ।
तर आजभोलि अमरगढी नगरपालिकाले १ लाख ४० हजार सहयोगमा स्थानीयले घट्ट सञ्चालनमा ल्याएका छन् । उनीहरुले जस्तापाताले छाएको दुई कोठे भवन निर्माण गरी घट्ट सञ्चालनमा ल्याएका हुन् ।
उसो त परम्परागत ढिकी, जाँतो र घट्टको संरक्षण लागि समेत आफुहरुले घट्ट निर्माणमा जोड दिएको स्थानीय भीमबहादुर पाण्डेयले बताए । ‘विद्युत् पुगेको छ, लेडसेडिङ भएर आउनेजाने टुंगो हुँदैन । घट्ट त निरन्तर रूपमा सञ्चालन हुन्छ,’ पाण्डेले भने, ‘घट्टबाट कुटानी पिसानी गर्दा स्वास्थ्यको लागि हितकर पनि छ । मिलमा पैसा पनि लाग्छ, घट्टमा निःशुल्क पिस्न पाइन्छ ।’
घट्टमा भागेश्वर गाउँपालिकाको खाल्टा, चौडलगायतका गाउँ र अमरगढी नगरपालिकाका रोडङा, ढोलपोखरा, चिरकिट्टे गाउँका स्थानीय गहुँ, जौ, मकै पिसानीका लागि जाने गरेका छन् । अमरगढी नगरपालिको आर्थिक सहयोग र स्थानीयको जनश्रमदानबाट घट्ट सञ्चालमा ल्याएको उनले बताए ।
यस्तै मौलिकता, संस्कृति लोप भइरहेको अवस्थामा त्यसको संरक्षण लागि पानी घट्ट सञ्चालनमा ल्याएको अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताए ।