सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कक्षा १२ को परीक्षा सञ्चालनमा अन्योलता कायमै

२०७७ कार्तिक १४, ०१:१४ नारायण अवस्थी

धनगढी: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाका लागि तोकिएको मिति नजिकिए पनि सुदूरपश्चिममा परीक्षा सञ्चालनमा अन्योलता कायमै रहेको छ ।

परीक्षा बोर्डले आगामी मंसिर ९ देखि १६ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गर्न तालिका सार्वजनिक गरेको थियो । तर विद्यालयहरु अझै पूर्ण रुपमा सञ्चालनमा नआएकोले अन्योलता बढेको हो । 

तर विद्यार्थीहरु भने कोरोना महामारीपछि रोकिएको परीक्षा सञ्चालन हुने भएपछि खुसी भएका छन् । कोरोना कहर संक्रमणका कारण रोकिएको कक्षा १२ को परीक्षा आगामी मंसिर ९ देखि १६ गते सम्म सञ्चालन हुने भनिएपनि सुदूरपश्चिममा अन्योलता कायमै रहेको पाइएको हो ।

कक्षा ११ मा विषय लागेका परीक्षार्थीको हकमा आन्तरिक मूल्यांकंन र अन्य जिल्लाबाट परीक्षा फारम भरेको परीक्षार्थीको हकमा के गर्ने भन्नेमा अन्योलता रहेको बताइएको छ । 

कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा.पदमराज जोशीले  भने, ‘कक्षा १२ को परीक्षा केन्द्र, परीक्षा संचालन र व्यवस्थापनका सम्बन्धमा अन्योलता कायमै छ । कक्षा ११ को परीक्षामा अनुत्तिर्ण रहेका विद्यार्थीको मूल्यांंकंनमा पनि अन्योलता रहेको छ । होम सेन्टर हुने भएपछि हजारौं विद्यार्थी भएका विद्यालयलाई व्यवस्थापनमा समस्या हुने क्याम्पस प्रमुुख जोशीको भनाइ छ ।

कोरोना संक्रमणपछि कक्षा १२ को परीक्षा लिन राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को विद्यार्थी मूल्यांकंन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण सम्बन्धी कार्यविधि २०७७ जारी गरेको छ । सो कार्यविधि अनुसार कक्षा १२ को परीक्षा ३ तरिकाले हुनेछ । जस अनुसार ४० प्रतिशत अंकका लागि लिखित परीक्षा हुने, २० प्रतिशत विद्यालयले आन्तरिक मूल्यांकंन अनुसार अंक दिने र बाँकी ४० प्रतिशत कक्षा ११ को नतिजाको आधारमा मूल्यांकन हुने जानकारी राष्ट्रिय परीक्षा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख उत्तमदेव बिष्टले दिए ।

गत बैशाखमै हुनुपर्ने कक्षा १२ को परीक्षा कोरोनाको कारण पछि धकेलिएको हो । राष्ट्रिय परीक्षा बोर्डले कार्यविधी बनाउँदै वैकल्पिक व्यवस्था गरेपछि परीक्षा सञ्चालन गर्ने बाटो खुलेको हो । सुदूरपश्चिममा विद्यालयहरुमा देखिएको अन्योलताले आन्तरिक तयारी समेत भएको छैन् । तर विद्यार्थीहरु भने परीक्षा सञ्चालन हुने भएपछि तयारीमा जुटेका छन् ।  धनगढीको कैलाली मोडेलकी विद्यार्थी श्रेया भट्टले परीक्षा हुने भएपछि आफूहरु उत्साहित भएको र तयारीमा जुटेको बताइन् ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा आउनु अगावै कक्षा ११ को परीक्षा विद्यालयहरुले लिइसक्नु पर्ने जनाएको छ ।
 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस