त्रासै–त्रासमा धनगढीवासीको दशैँ
धनगढी : धनगढीवासीको लागि यसपालिका दशैं उदेक लाग्दो थियो । निधारमा रातो टीका थापेपनि मनमा उल्लास थिएन । विजया दशमीको दिन धनगढीवासीलाई नियाल्दा उनीहरुमा निराशा संगै त्रास उत्तिकै थियो । सुुदूरपश्चिमका अस्थायी राजधानी समेत रहेको धनगढीको चटकपुरदेखि क्याम्पस रोड पुग्दा थुप्रै नगरवासी संग भेटघाट भयो ।
शुरुमा चटकपुरमा गम्भीरसिंह भण्डारी आफ्नो चिया पसलमा भेटिए । दशैँ कस्तो रह्यो भन्ने जिज्ञासामा उनले भने, ‘यसपालिको दशैँ रमाइलो भएन, कोरोनाको कारण आफूलाई खल्लो लागेको बताए । आफन्त इष्टमित्रसँग भेट गर्न नपाउँदा निकै नरमाइलो लागेको भण्डारीले बताए । धनगढी ट्राफिक चौराहामा भेटिनु भएका कल्पना नेपालले यसपालिको दशैँ अरु वर्षभन्दा फरक ढंगले मनाएको बताइन् ।
कोरोनाको कारण दशैँ घरभित्र मात्रै सीमित रहेको नेपालको भनाइ छ । धनगढी बाल मन्दिर नजिक आफ्नो किराना पसलमा भेटिनु भएका नवराज मिश्रले आमा र दाजुहरुबाट टीका र आशिर्वाद लिएर दशैँ मनाएको बताए । कोरोना कहरले सामान्य हिसाबले घर परिवारमा रमाइलो संग दशैँ मनाएको मिश्रको भनाइ थियो । धनगढीको हसनपुरस्थित आफ्नो पसलमा भेटिएका चक्र देउवाले सामाजिक दुरी कायम गरी मनाएको बताउँछन् ।
कोरोनाको संक्रमणबाट जोगिन परिवारभित्र मात्रै दशैँ सीमित गरेको देउवाले जनाए । बुद्ध चौकमा भेटिएका जुगेडाका हिक्मत धामीले भने, ‘कोरोनाको कारण यो वर्षको दशैँ घरभित्र सीमित हुनपुग्यो । सुुरक्षित रहन दशैँमा रममmम गरिएन ।’ यसैगरी क्याम्पस रोडमा भेटिएका रामनारायण चौधरीले यो वर्ष दशैँमा रममmम नगरिएको बताउँछन् ।
क्याम्पस चौकमा भेटिएका सञ्जयकुमार साहले भने, ‘दशैँ यो वर्ष त्यति रमाइलो नभएपनि मनाउन चाँहि मनाइयो, उनले थपे, ‘ यो वर्ष दशैँ कोरोनाको कहरले खायो । यसरी यो वर्षको दशैँ कोरोनाको कारण सबैका लागि फरक अनुभव र अनुभूति दिएर गएको छ। कोरोनाको डर र त्रासले दशैँमा समेत उन्मुक्त भएर रमाउन नपाएको यो वर्षको सबैका लागि सधैँका लागि अन्तिम होस् भन्ने सबैको चाहना रहेको छ ।