भायानेटले निःशुल्क इन्टरनेट जडान गरेपछि भिडियो कलमा रमाउँदै छांगरुवासी
दार्चुला: दार्चुलाको व्यास गाउँपालिका–१ छांगरुका नागरिकका लागि अहिलेपनि आफन्त वा कसैसँग मोबाइलमा कुरा गर्नुपरे मोबाइलको नेटवर्कले राम्रो काम गर्दैन्। स्काई फोनको टावर भएपनि प्रष्ट आवाज सुन्न सकिदैन्। तर अहिले भने इन्टरनेटबाट आफन्त र विश्वको खबर क्षणभरमै छांगरुका नागरिकले जानकारी लिन थालेका छन्।
पछिल्लो समय निजी इन्टरनेट कम्पनी प्रदायक भायानेटले व्याँसको छांगरुमा निःशुल्क इन्टरेनट जडान गरेपछि ग्रामीण भेगका नागरिकले इन्टरनेटमार्फत विश्व हेर्ने मौका पाएका छन्। टेलिफोन तथा मोबाइल प्रयोग गर्न नपाएपनि अहिले यहाँका नागरिकले इन्टरनेट सेवामार्फत सहज रुपमा सेवा पाएका छन्। इन्टरनेटको पहुँच भएपछि व्यासको छांगरुका सर्वसाधारण, सुरक्षाकर्मीहरु झुम्मिएर रात्रभर वाइफाई चलाउँदै गफिन्छन।
व्यासको छांगरुमा भायानेटमार्फत वाइफाइ जोडेको दुई वर्ष भयो। पोहर सालसम्म भारतका आइटिबी, एसएसबी र आफन्तजनहरु छांगरु आएर वाइफाइ चलाउथे। ‘उता भारत पट्टी फोन इन्टरनेट नहुँदा छांगरुमा आएर इन्टरनेटको सुविधा प्रयोग गर्थे’ व्यास १ छांगरुका स्थानीय दोर्जी लामाले भने ‘अहिले सीता पूल गत चैत ११ गतेदेखि बन्द भएपछि वाइफाइ प्रयोग गर्न आएका छैनन्।’
इन्टरनेटको पहुँच भएपछि आफन्तसँग भिडियोमा कुरा गर्न छांगरुका उपभोक्ताहरु बेलुकी दुई ठाउँमा जम्मा भएर रमाउने गर्छन्। ‘भायानेटले स्वास्थ्य चौकी छांगरु र सामुदायिक मिलन केन्द्रमा निशुल्क वाइफाई जडान गरेको छ’ इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि दिपेश ऐतवालले भने।
‘स्वास्थ्य चौकीमा सरकारी कार्यक्रम अनुसार निःशुल्क इन्टरनेट जडान गरिएको हो। भाया नेट सञ्चालक छांगरुकै भएको कारण एउटा लाइन गाउँमा दिइएको छ। दिपेशले भने, ‘वाइफाइ चलाउन भारततिरका सुरक्षाकर्मी मात्र हैनन् बुदि, भारतकै छायालेक, गव्र्याङ, नपल्चु, रोङकाङ गुञ्जी, नावी कुटीबाटसमेत आउने गरेका थिए।’
उता भारतमा फोनको समेत पहुँच छैन्। उनीहरुले नेपाली फोन नै प्रयोग गर्छन्। छांगरुमा रहेको स्काई टावरले भारतका यी गाउँमा काम गर्छ। फोन नलागेपनि वाइफाईले शहरको खबर गाउँ र गाउँको खबर शहर पुर्याउने सहज माध्यम बनेको छ।
‘अहिले भिडियो र म्यासेन्जरमा आफन्तसँग कुरा गर्न वाइफाइले सहज बनाएको छ’ स्थानीय जगदीश प्रताप ऐतवालले भने, ‘अहिले बालबालिकादेखि बुढापाकासम्म सामुदायिक मिलन केन्द्रमा राती अवेरसम्म वाइफाइ चलाउन थालेका छन्।’
भिडियो कल, भाइभर र म्यासेन्जरमा अत्यावश्यक कुरा गर्नुपरे वा फेसबुकजस्ता सामाजिक सञ्जालमा स्थानीय व्यस्त हुन थालेका छन्। गाउँमा झण्डै ४०/५० जना भन्दा बढिले वाइफाइ प्रयोग गर्दै आएका छन्। छांगरुमा स्काई फोन प्रभावकारी नभएपछि छांगरुकै ज्याक्ती डाडामा नमस्ते टावर राख्ने तयारी गरिएको छ। ज्याक्ती डाडामा नमस्ते टावर राखे छांगरुको साथै, भारतद्धारा अतिक्रमित कालापानी, नाबी, गुञ्जी कुटी गाउँसम्मै सहजै नेपाली सञ्चारको पहुँच पुग्नेछ।
केहि दिन अघि व्यासको भ्रमण गर्नुभएका गृहमन्त्री रामबहादुर थापा नेतृत्वको टोलीलले पनि व्यासमा छिट्टै टेलिफोन टावर राखिने बताएका थिए। सामरिक महत्व बोकेको क्षेत्रमा सञ्चार सेवा प्रभावकारी नभएको पाइएकोले छिट्टै टेलिफोन विस्तार गरिने बताएका थिए।
तिंकरबासी सञ्चारबाट वञ्चित
व्यास गाउँपालिका १ छांगरुको एक गाउँमा स्काई टेलिफोन र भायानेटमार्फत वाइफाईको सुविधा हुँदा तिंकर गाउँ भने सञ्चारविहिन छ। तिंकर गाउँमा फोनले काम नगर्ने भएपछि उनीहरु फोन गर्न डाडाकाडा चाहर्नुपरेको सीमा प्रहरी तिंकर प्रहरी चौकीका इन्चार्ज हरकसिह महताले बताए। ‘वाइफाई फोन सबै छांगरुमै रह्यो। तिंकरका स्थानीय र प्रहरीलाई फोन गर्न डाडाकाडा हेर्नुपरेको छ’ उनले भने।