सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा सदरमुकामको सडक चौडा पार्ने टेन्डर फेरि स्थगित

२०७७ असोज १९, ०१:२२ खबर संवाददाता

डडेल्धुरा : भीमदत्त राजमार्ग अन्र्तगत डडेल्धुरा सदरमुकाम बागबजारदेखि कीर्तिपुरसम्मको सडकखण्ड विस्तारका लागि डिभिजन सडक कार्यालय कुलपाते डोटीले दोश्रो पटक आह्वान गरेको बोलपत्र पुनः स्थगित भएको छ। 

डिभिजन सडक कार्यालय कुलपातेले उक्त सडकखण्ड स्तरवृद्धी गर्न लागि ४४ करोड बजेट विनियोजित गर्दै पहिलो पटक जेठ ८ गते बोलपत्र आह्वान गरेको थियो। प्राविधिक कारण देखाउदै उक्त बोलपत्र गत भदौ ३ गते स्थगित गरिएको थियो।  

पहिलो पटक स्थगित गरिएको टेण्डर पुनः आह्वान गरिएपनि आइतबार फेरि प्राविधिक कारण देखाउदै पुनः टेण्डर स्थगित गरेको डिभिजन प्रमुख सुदर्शन कार्कीले बताए। 

अमरगढीका मेयरलाई सर्वोच्चको कारण देखाउ आदेश
यसैबिच सर्वोच्च अदालतले अमरगढी नगरपालिकाका मेयर विश्वेश्वरप्रसाद ओझासहितका विपक्षीका नाममा आइतवार कारण देखाउ आदेश जारी गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मेयर ओझासहित नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्याय, नगर कार्यपालिकाको कार्यालय र डिभिजन सडक कार्यालय कुलपाते डोटीका डिभिजन प्रमुख सुदर्शन कार्कीलगायतका नाममा कारण देखाउ आदेश जारी गरेको हो।

अमरगढी नगरपालिका–५ बस्ने दीपकराज पन्तले डडेल्धुरा सदरमुकाममा सडक विस्तार गर्दा अदालतको फैसला विपरित सडक क्षेत्रमा घरजग्गा रहेका सर्वसाधारणलाई मुआब्जा नदिई सडक विस्तार गरिन थालिएकाले अदालतको मानहानी भएको ठहर गर्दै असोज ८ गते सर्वोच्चमा निवेदन दर्ता गरेका थिए। सो निवेदनका सन्दर्भमा आइतबार विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी भएकोे अधिवक्ता भेषराज पन्तले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको हिलस्टेशनका रुपमा डडेल्धुरा सदरमुकामलाई विकास गर्न आवश्यक रहेकाले सडक बिस्तार गरिनु आवश्यक भएको नगरप्रमुख ओझाले बताए। उनले सडक विस्तार कार्यमा अवरोध पुगाउन मुद्दा दर्ता गरिएको दाबी गरे। ‘हामीले अदालतको मानहानी गरेका होइनौं,’ उनले भने ‘पटक पटक अदालतमा मुद्दा दिएर विकासका कामहरु अवरुद्ध गर्ने प्रयास भईरहेको छ।’

कमेन्ट लोड गर्नुस