धनगढीमा सामुदायिक संक्रमण तिव्र, महामारीको चरणमा प्रवेश गरेको दावी
धनगढीः गत चैत दोस्रो साता पहिलो पटक कोरोना संक्रमण देखिएको धनगढी उप–महानगरपालिकामा सामुदायिक संक्रमण तिव्र रुपमा फैलिदै गएको छ। सुदूरपश्चिमको अस्थायी राजधानी समेत रहेको धनगढीमा सामुदायिक संक्रमण तिव्र रुपमा बढ्न थालेको हो।
हाल सम्म धनगढीमा कोरोना पुष्टि भएका झण्डै ९० प्रतिशत सामुदायिक संक्रमित रहेको बताईएको छ। उप–महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार बीहिबार सम्म सात सय तीन जनामा संक्रमण पुष्टि भएकोमा १० प्रतिशतको मात्रै ट्राभल हिस्ट्री भेटिएको छ। स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले ९० प्रतिशत संक्रमितको ट्राभल हिस्ट्री नभेटिएका कारण सामुदायिक संक्रमण बृद्धि हुँदै गएको बताए।
‘उप–महानगरपालिकामा सात सय तीन जनामा संक्रमण पुष्टि भएको छ। उनीहरु मध्ये १० प्रतिशत मात्रै अन्यत्रबाट आएका व्यक्ति छन्। बाँकी सबै सामुदायिक संक्रमण हो।’ उनले भने, ‘सबैभन्दा धेरै बजार क्षेत्रमा पर्ने वडा नम्बर १ देखि ८ मा सामुदायिक संक्रमण बढेको छ।’
कैलालीमा दुई हजार चार सय बढि कोरोना संक्रमित भेटिएकोमा सबैभन्दा धेरै करिब ३० प्रतिशत धनगढीका मात्रै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले धनगढीमा अन्य स्थानीय तहको तुलनामा दैनिक संक्रमण समेत तिव्र रुपमा फैलिरहेको बताए। बुधबार एकैदिन धनगढीमा ९० जना संक्रमित थपिएका थिए।
धनगढीमा सामुदायिक संक्रमण तिव्र रुपमा बढ्दै गएपछि महामारीको चरणमा प्रवेश गरेको हो की भन्ने आशंका गरिएको छ। स्वास्थ्य कार्यालय निमित्त प्रमुख धामीले समेत धनगढीमा कोरोना महामारीको सुरुवाती चरण देखिएको दावी गरे।
‘सामुदायिक संक्रमण तिव्र रुपमा फैलिरहेको छ। यसलाई हेर्दा महामारीको सुरुवाती चरणका रुपमा बुझ्न सकिन्छ।’ धामीले भने। यता, धनगढी उप–महानगरपालिकाले समेत सामुदायिक संक्रमण तिव्र रुपमा बढिरहेकाले कोरोनाले महामारीको रुप लिन सक्ने जनाएको छ।
संक्रमणलाई महामारीको चरणमा प्रवेश गर्न नदिन अत्यावश्यक बाहेक आवागमन नगर्ने, अत्यावश्यक काम भएका व्यक्तिसँग मात्र भेटघाट गर्ने, भेटघाट गर्दा अनिवार्य सामाजिक भौतिक दुरी कायम गर्ने तथा मास्कको अनिवार्य प्रयोग गर्न सुझाव दिईएको छ।
आम नगरबासीलाई सचेत हुँदै स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्दै संक्रमणलाई भयावह हुनबाट जोगाउने भूमिका खेल्न समेत आग्रह गरिएको छ भने उमपहानगरपालिकाले संक्रमण अवस्था पत्ता लगाउन कन्ट्रयाक्ट ट्रेसिङ र परीक्षणलाई समेत विस्तार गरिएको जनाएको छ।
उपमहानगरपालिकाले जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न टोल टोलमा स्वास्थ्य स्वयम सेविका समेत पहिचाल गर्ने जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले जानकारी दिए।
तर धनगढीमा लकडाउन र निषेधाज्ञा खुलेसँगै आवागमन ह्वात्तै बढेको छ भने काम विशेषले आवातजावत गर्नेहरुले समेत स्वास्थ्य सुरक्षाका मापदण्ड लागु नगर्दा जोखिम बढ्दै गएको छ।