डडेल्धुराको कुँणामा सशस्त्रको बिओपी स्थापना
डडेल्धुरा: भारतसंग सीमा जोडिएको डडेल्धुराको परशुराम नगरपालिका–६ को कुँणामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट(बिओपी) स्थापना भएको छ।
मंगलवार सशस्त्र प्रहरी बल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथोकी र परशुराम नगरपालिका–६ का अध्यक्ष खगेन्द्रबहादुर सिंहले संयुक्त रुपमा बिओपीको उद्घाटन गरका छन्।
परशुराम नगरपालिकामा स्थापना भएको सशस्त्र प्रहरीको यो चौथो बिओपी हो। यसअघि उक्त नगरपालिकाको वडा नम्बर ५ परिगाउँ, ४ शीर्ष, ७ सादनीमा बिओपी स्थापना भइसकेका छन्। सीमा सुरक्षा र सीमा स्तम्भहरुको संरक्षण, सीमा अपराध, चोरी तस्करी नियन्त्रणलगायतका काम गर्न बिओपी स्थापना गरिएका हुन्।
भारतसंग सीमा जोडिएको परशुराम नगरपालिकाकाका उक्त सीमा नाकाहरुबाट चोरी तस्करीका घटना बढेका छन्। महाकाली नदीबाट ट्यूब र डुंगामार्फत अबैध समानहरु आयात हुने क्रम बढेको छ। स्थानीय स्रोतका अनुसार खासगरी परिगाउँ नाका भएर अवैध समान भित्रिने गरेको छ।
बिओपीको स्थापना भएपछि तस्करी नियन्त्रण हुनेमा स्थानीय विश्वस्थ छन्।