सुदूरपश्चिममा जघन्य अपराधका घटना गाउँघरमै सामसूम पारिदा दण्डहिनता मौलायो
धनगढीः गत बुधबार बझाङको मष्टा गाउँपालिका वडा नम्बर २ की १२ वर्षीया बालिका सम्झना कामी बलात्कारपछि हत्या गरेको अवस्थामा घरभन्दा झण्डै दुई किलोमिटर टाढा सिम मन्दिर भेटिईन्। अर्धनग्न अवस्थामा सम्झनाको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
घटनाको अनुसन्धानका क्रममा बलात्कारपछि हत्या गरेको आशंकामा सोही ठाउँका अन्दाजी १८ वर्षीय राजेन्द्र बोहोरालाई नियन्त्रणमा लियो। बोहोरालाई नियन्त्रणमा लिएको हप्ता दिन नबित्दै गत साउनमा समेत उनले गाउँकै १४ वर्षीय बालिकामाथि बलात्कार गरेको घटना सार्वजनिक भयो। तर उक्त घटना स्थानीय जनप्रतिनिधि र नागरिक अगुवाकै रहोबरमा घटना मिलापत्र गरिएको खुलेको छ।
सम्झनाको बलात्कारपछि हत्या गर्नुको उपज यसअघिको घटनामा मिलापत्र गरिनु नै रहेको अपीडित पक्षले बताएका छन्। ‘त्यो घटना गाउँमै नमिलाएको भए अहिले अपराधी बोहोरा जेलमा हुन्थे। सम्झनामाथि कुदृष्टि लगाउन पाउने थिएन।’ मृतक सम्झनाका काका बलम बिसी भन्छन्, ‘तर उसलाई कारवाहीको दायरामा नल्याउँदा नानुको बलात्कारपछि हत्यो गरे।’
स्थानीय तहका जनप्रतिनिधि र नागरिक अगुवाको रहोबरमा यसअघिको बालिकामाथि भएको बलात्कारको घटनामा मिलापत्र गरिएको भएपनि अहिले जनप्रतिनिधि बेखबर जस्तै बनेका छन्। वडा स्तरमै वडाध्यक्ष सहितका पाँच जना जनप्रतिनिधि भएपनि उक्त घटनाका विषयमा यसपूर्व कुनै जानकारी नभएको दावी गरिएको छ।
मष्टा गाउँपालिकाकी उपाध्यक्ष भगवती बोहोराले सम्झनाको बलात्कारपछि हत्या गरिएको घटना सार्वजनिक भएपछि मात्रै पूरानो घटनामा मिलापत्र गरिएको कुरा थाहा पाएको दावी गरिन्। ‘यसअघि गाउँमै घटना मिलाईयो भन्ने कुरा हामीलाई थाहा थिएन। जब सम्म्झनाको हत्या भयो, ती व्यक्ति पक्राउ परे त्यसपछि मात्रै जानकारी पायौँ।’ उनले भनिन्।
तर सम्झनाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका राजेन्द्र बोहोरा विरुद्ध गाउँमै मिलापत्र गरिएको घटनाको समेत किटानी जाहेरी परेको प्रहरीले जनाएको छ। सम्झना हत्या प्रकरणसँगै यसअघि १४ वर्षीया बालिकामाथि जबरजस्तीकरणी गरिएको घटनाको समेत अनुसन्धान भईरहेको छ।
आरोपी बोहोरालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ। दुवै घटनाको गम्भीर रुपमा अनुसन्धान भईरहेकाले मिलापत्र गर्ने/गराउने जोसुकैलाई पनि कारवाहीको दायरामा ल्याईने बझाङका प्रमुख प्रहरी नायब उपरिक्षक रुपक खड्काले बताए। ‘जघन्य अपराधका घटना गाउँघरमै मिलापत्र गराउँन पाईदैन्।’ उनले भने, ‘हामी त्यो विषयमा अनुसन्धान गरिरहेका छौँ। घटना मिलाउने मतियारलाई पनि कारवाहीको दायरामा ल्याउँछौँ।’
बझाङको प्रतिनिधिमुलक उदाहारण भएपनि सुदूरपश्चिममा अहिले पनि जघन्य अपराधका घटना गाउँघरमै ढाकछोप गर्ने प्रवृत्ति रोकिएको छैन्। निर्वाचित जनप्रतिनिधी र गाउँघरका टाठाबाठा व्यक्तिहरुले अपराध ढाकछोपममा भूमिका खेल्दा दण्डहीनता मौलाएपछि हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधका घटना बढ्न थालेका छन्।
तर स्थानीय प्रशासनलाई घटनामा संलग्न मात्र नभएर ढाकछोप गर्नेहरुलाई समेत कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरिएको छ। अधिवक्ता रेणुप्रधान श्रेष्ठले जघन्य प्रकृतिका अपराधलाई लकुाउने सबैलाई कारवाहीको दायरामा ल्याउन आवश्यक रहेको बताईन्।
‘कानूनले समेत हत्या, हिंसा, बलात्कार जस्ता जघन्य प्रकृतिका घटनामा मिलापत्र गर्न नपाउँने व्यवस्था गरेको छ’ उनले भनिन्, ‘तर समाजमा यो क्रम नरोकिदा दण्डहिनताले प्रशय पाउँदैछ। घटना मिलाउने जोसुकै भएपनि कारवाही हुनुपर्छ। अपराध ढाकछोप गर्न पाईदैन्।’
प्रहरी समेत जघन्य अपराधका घटना गाउँघरमै मिलापत्र गर्ने प्रवृत्ति नरोकिदा अपराध नियन्त्रणमा चुनौती थपिदै गएको बताउँदै आएको छ। त्यस्ता घटना गाउँघरमै मिलाउँदा झन ठुला घटना निम्तिएका उदाहरणहरुलाई दृष्टिगत गरी जनचेतना फैलाउने तथा घटना लुकाउने व्यक्तिलाई समेत कारवाहीको दायरामा ल्याउने कार्यमा प्रहरी कटिबद्ध रहेको दावी गरिएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले जघन्य अपराधका घटना गाउँघरमै मिलापत्र गरिएको घटनालाई गम्भीरमा लिईएको बताए। उनले जनचेतना फैलाउँनेदेखि त्यस्ता कार्यमा संलग्न व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याईने बताए।
तर कतिपय अवस्थामा कानून कार्यान्वयन र अपराध नियन्त्रणको जिम्मेवारी पाएको प्रहरी समेत जघन्य प्रकृतिका अपराधका घटना ढाकछोप गर्न लाग्ने गरेको आरोप खेप्ने गरेको छ। प्रहरीकै संरक्षणमा अपराध हुने प्रवृत्तिले समेत अपराधिक मनोवृत्ति भएका व्यक्तिहरुले जरा गाड्दै गएकाले त्यसतर्फ समेत प्रहरी प्रशासन सचेत र सजग रहनुपर्ने सुझाव सरोकारवालाहरुले दिएका छन्।