दिनेश सञ्चार गृहमा भएको आक्रमणको घटनामा के गर्दैछ कैलाली प्रहरी?
धनगढीः गत भदौँ २६ गते दिनेश सञ्चार गृहमा भएको सांघातिक आक्रमणको घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
आक्रमणमा संलग्न गिरोहका नाईके धनगढी ५ का जीवन भनिने समिर विक सहितका ६ जनालाई पक्राउ गरेको प्रहरीले उनीहरुमाथि आवश्यक अनुसन्धान भईरहेको जनाएको छ।
सञ्चार गृहमै पुगेर समाचार कक्षमा पत्रकारमाथि कुटपिट गरेको आरोपमा बिक सहित धनगढीका चक्र रावल, मिलन चन्द, सरोज थापा, प्रमोद खड्का र कुबेर खड्कालाई नियन्त्रणमा राखेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बताए।
तर आक्रमणमा संलग्न अन्य १४ जना व्यक्तिहरु भने पक्राउ परेका छैनन्। किटानी जाहेरीमा परेका अन्य १४ जना अहिले सम्म पक्राउ नपरेको प्रहरी नायब उपरिक्षक विष्टले जानकारी दिए। विष्टले उनीहरु फरार रहेकाले खोजी कार्य जारी राखिएको बताए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले दिएको जानकारीका आधारमा धनगढीका १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार प्रकाशित गरेको थियो। सोही समाचारलाई लिएर दिनेश सञ्चार गृहमा प्रवेश गरेको युवाको समूहले आक्रमण गर्दै पत्रकार र कर्मचारीमाथि कुटपिट गरेका थिए।
उनीहरुले दिनेश खबरले झुठा समाचार लेखेको भन्दै सञ्चार गृहको समाचार कक्षमा सह–सम्पादक जनक विष्ट, व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिहमाथि दुर्व्यवहार गर्दै कुटपिट गरेका थिए।
सञ्चार गृहमा आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ कैलाली शाखाको अगुवाईमा धनगढीमा आन्दोलन भएको थियो भने नेपाल पत्रकार महासंघको मिसन टोलीले पनि धनगढी पुगेरै घटनाको अध्ययन गरेको छ।
मिसन टोलीले घटना सम्बन्धीको अध्ययन प्रतिवेदन केही दिनमा सार्वजनिक गरिने जनाएको छ।