धनगढीमा ‘श्रोतव्य’ कार्यक्रमको सुरुवात
धनगढी : धनगढीमा ‘श्रोतव्य’ कार्यक्रमको सुरुवात गरिएको छ। होटल दिनेशकी व्यवस्थापक शादर शाहले सुदूरपश्चिममा पहिलो पटक ‘श्रोतव्य’ कार्यक्रमको सुरुवात गरेकी हुन्। कोरोना भाईरसको प्रभावको अवधिमा ‘श्रोतव्य’ कार्यक्रम सुरुवात गर्ने सोच बनाएको शाहले बताईन्।
सबै उमेर समूहका व्यक्तिहरुले आफ्नो मनका भावना, रचना, सफल जिवनका कथाहरु, अनुभव लगायतका सिर्जनाहरु सुनाउनका लागि धनगढीमै उक्त कार्यक्रमको सुरुवात गरिएको हो। यो संगै समाजमा भएका घटनाहरु, राम्रा–नराम्रा पक्षहरुको बारेमा समेत उक्त कार्यक्रमा सहभागी भई सुनाउन सकिने छ।
‘कोरोना प्रभावको बेला जारी लकडाउनको अवधीमा आत्महत्याका घटनाहरु धेरै सार्वजनिक भए,’ श्रोतव्य कार्यक्रम सुरुवात गरेकी शाहले भनिन्, ‘सबै उमेर समूहका जस्तै युवक, महिला, पुरुष र बृद्धहरुले समेत आत्महत्या गरेका समाचारहरु आईरहेका छन्। यस्ता कार्यक्रमले आत्महत्या रोक्न पनि सहयोगी भूमिका खेल्छ।’
मनमा लागेका कुराहरु सुनाउन नपाएकै कारण यस्ता घटनाहरु दोहरिने गरेका कारण ‘श्रोतव्य’ कार्यक्रमको सुरुवात गरिएको हो। योसंगै विभिन्न समस्यामा परेका, दुव्र्यसनीमा फसेका युवाहरुलाई समेत लक्षित गरि ‘श्रोतव्य’ को सुरुवात गरिएको शाहले बताईन्।
सकारात्मक सोचको विकास गर्नका लागि सुरुवात गरिएको कार्यक्रमको पहिलो श्रृङ्खला पनि सम्पन्न भएको छ भने सोही कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिईनेछ।