सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका सीमानाकामा भद्रगोल, भारतबाट फर्किने संक्रमित सोझै गाउँ जादै

२०७७ असोज ९, ११:४५ जनक विष्ट

धनगढी : बुधबार डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका ४८ वर्षीय पुरुष दुई दिन पहिले मात्र भारतबाट फर्किएका थिए। श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका नवदुर्गा गाउँपालिका २ का उनमा कोरोना पुष्टि भएको छ।

ती पुरुषमा भारतमै रहेका बेला कोरोना पुष्टि भएको आफन्तले बताएपनि उनी स्वयंमले भने कसैलाई जानकारी समेत नगराएको खुलेको छ। भारतबाट फर्किएर क्वारेन्टिनमा बस्नुपर्ने पुरुष सोझै घर गएका थिए। डडेल्धुरा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर जगदिश विष्टले मृतक पुरुष श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएपनि अन्य लक्षण भने नदेखिएको जनाए।

‘भारतमा कोरोना पोजेटिभ देखिएको उहाँसँग आउनुभएका व्यक्तिले मौखिक जानकारी दिएका छन्। तर उहाँमा लक्षण कस्तो थियो? भन्ने कुरा सँगै बसेका मान्छेहरु भेटिएका छैनन्।’ उनले भने, ‘अस्पताल पुगाउँदा शरिरमा अक्सिजनको मात्रा निकै कम थियो। प्रयास गर्दागर्दै बचाउन सकिएन।’

कोरोना संक्रमणका कारणबाट मृत्यु भएका पुरुषको बारेमा अस्पतालले थप विवरण खोजिरहेको जनाएको छ। नवदुर्गा गाउँपालिकाले भने उनको मृत्युपछि गाउँ सिल गरेर सम्पर्कमा आएका अन्यको नमूना संकलन गरी परीक्षणको तयारी थालिएको जनाएको छ। गौरीफन्टा त्रिनगर सीमा नाकाबाट फर्किएका संक्रमित पुरुष सोझै घर गएको देखिएको गाउँपालिका कार्यालयले जनाएको छ।

लकडाउन र निषेधाज्ञा खुलेपछि सीमानाका अव्यवस्थित हुँदा भारतबाट फर्किरहेका संक्रमितहरु सोझै घर फर्किरहेका हुन्। जसले गर्दा समुदाय स्तरमा संक्रमणको जोखिम बढेको छ। स्थानीय प्रशासन, प्रदेश सरकार र स्थानीय तहले आपसी समन्वयका माध्यमबाट सीमालाई व्यवस्थित गरी भारतबाट फर्किनेहरुलाई छुट्टै राख्दै परीक्षण गर्नुपर्ने हो।

तर सुदूरपश्चिममा लकडाउन र निषेधाज्ञा खुलेपछि सीमा नाकाबाट विगतमा जस्तै आवागमन भईरहेको छ भने नाकामै स्थापना गरिएको होल्डीङ सेन्टरमा होल्ड गर्न समेत समस्या भईरहेको दावी गरिएको छ। गौरीफन्टा नाकामा होल्डीङ सेन्टर स्थापना र सञ्चालनका लागि बजेट पाएको धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोश मुडभरीले अहिले विगतमा जस्तो होल्डीङ सेन्टर नहरेको बताए।

‘अहिले सार्वजनिक सवारी पनि खुलीसकेको अवस्था भएकाले विगतमा जस्तो राती नै बास बस्नेगरी होल्डीङ सेन्टर छैन्।’ उनले भने, ‘भारतबाट फर्किनेहरु केही बेर होल्ड गर्नूहुन्छ। खाने व्यवस्था पनि मिलाएका छौँ। कतिपय मान्छेहरु सोझै पनि जानुहुन्छ।’

यता भारतबाट फर्किनेहरुको सीमामै पीसीआर परीक्षण गरेर घर पठाउने दावी गर्दै आएको प्रदेश सरकार समेत अहिले विभिन्न बाहाना देखाउदै पन्छीरहेको छ। स्रोत साधन र समन्वयको अभावको कारण देखाउँदै सीमामा कोरोना परीक्षण गर्ने बाचाबाट पन्छीरहेको हो।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले सीमामै परीक्षणको व्यवस्था मिलाउने भनिएपनि भौतिक र आर्थिक स्रोतको अभावले समस्या भएको बताए।

‘सीमा नाकामा होल्डीङ सेन्टर बनाउने भन्ने विषयमा छलफल भएको हो।’ उनले भने, ‘तर दैनिक ५/७ सय जना आउँनुहुन्छ। त्यती धेरै मान्छेहरुलाई होल्डीङ सेन्टरमा राख्न सक्ने क्षमता भएन।’

तर भारतबाट फर्किनेहरुलाई व्यवस्थित नगरिदा स्थानीय र सामुदायिक संक्रमण नदेखिएका क्षेत्रमा जोखिम बढेको छ। स्थानीय तहले समेत भारत तथा अन्य क्षेत्रबाट फर्किनेहरुलाई व्यवस्थापन गर्न छोडेपछि झनै समस्या भएको छ। 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस