दार्चुलामा स्क्रब टाइफस बिरामी पुरुषभन्दा महिला बढी, कसरी ?
दार्चुला: दार्चुलामा एक महिनाको अवधिमा ३४ जनामा स्क्रब टाइफसका बिरामी भेटिएका छन्। ती मध्ये २५ जना महिला र ९ जना पुरुष रहेको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिए।
हालसम्म जिल्लाको मालिकार्जुन गाउँपालिकामा ७ जना महिला तथा चार जना पुरुष गरी १० जना, महाकाली नगरपालिकामा १४ जना महिला तथा ५ जना पुरुषगरी १९ जना, व्याँस गाउँपालिकामा तीन जना महिला तथा लेकम गाउँपालिकामा एक जना महिलामा स्क्रब टाइफस देखिएको छ।
माइट नामक किर्नाको टोकाईबाट स्क्रब टाइफस हुने स्वास्थ्यर्मीले बताएका छन्। महिलाहरु पशुचौपायको प्रत्यक्ष सम्पर्कमा रहने र ओसिलो ठाँउमा घाँस तथा स्याउला सोतर गर्ने भएका कारण पुरुष भन्दा महिलाहरुलाई बढि स्क्रब टाइफसको जोखिममा रहेको स्वास्थ्यर्मीले बताएका छन्। साथै उनीहरुले सरसफाईमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन्।
गत वर्षको तुलनामा यो वर्ष स्क्रब टाइफसका विरामी बढी देखिन थालेका छन्। गत आर्थिक वर्षमा जिल्लाभरी ३ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको थियो।