कोरोना उपचारका लागि बंगलादेशबाट आएको ‘रेम्डेसिभिर’का सय भायल सेती अस्पताललाई
काठमाडौं: कोरोना उपचारका लागि प्रयोग हुने रेम्डेसिभिर बंगलादेशबाट सहयोगका रुपमा आएको छ। जम्मा ५ हजार भायलको परिमाणमा आएकाे उक्त रेम्डेसिभिर विभिन्न अस्पतालहरुलाई बाँड्न सुरु गरिएको छ।
पहिलो चरणमा औषधि प्रभावकारिता हेर्नका लागि विभिन्न ३० अस्पताललाई २ हजार ९ सय ६० भायल रेम्डेसिभिर बाँड्न सुरु गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीकाले बताए। औषधिको प्रभावकारिकता हेर्नका लागि अनुमति पाएका अस्पतालहरुलाई अध्ययनका लागि सो औषधि वितरण गर्ने निर्णय भएको उनले बताए। जसअन्तरगत एक सय भाइल कैलालीको सेती अस्पताललाई प्रदान गरिएको छ।
परिषद्ले बनाएको गाइडलाइनअनुसार मापदण्डमा परेका बिरामीहरुलाई सम्बन्धित चिकित्सकहरुले रेम्डेसिभिर दिन सक्नेछन्। एनएचआरसीको मापदण्डअनुसार सामान्यबाट गम्भीर हुँदैं गएको आईसीयु र भेन्टिलेटरमा नराखेका बिरामीलाई ५ दिनको कोर्स, गम्भीर आईसीयु र भेन्टिलेटरमा रहेका बिरामीलाई १० दिनको कोर्स दिइने उल्लेख छ।