मानव अधिकार आयोगद्वारा दिनेश खबरकर्मीमाथि आक्रमण गर्नेलाई कारवाहीको माग
धनगढी: राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले दिनेश सञ्चार गृहमा आक्रमण गर्नेलाई कारवाही गर्न माग राखेको छ। दिनेश खबरमा समाचार प्रकाशित भएकै विषयलाई लिएर आक्रमण र कुटपिट गरेको घटनाप्रती गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन अनुरोध गरेको छ।
आइतबार राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयका निर्देशक झंकर रावलले प्रेस नोट जारी गर्दै आफुहरुले घटनास्थल प्रहरी हिरासत र दिनेश सञ्चार गृहको अनुगमन गरेको जनाएका छन्।
‘जुनसुकै पक्षले पनि आफुलाई असहमति भएको वा चित्त नबुझेको विषयमा कानुनी बाटो अख्तियार गर्नुपर्नेमा सो नगरी कानुन आफ्नो हातमा लिई सञ्चारकर्मीमाथि हातपात, कुटपिट गर्नु शोभनिय कुरा होइन’ प्रेस नोटमा भनीएको छ।
भदौ २६ गते दिउँसो दिनेश संञ्चार गृहको कार्यालयमा पुगेका १५/२० जनाको समुहले गृहका सह–सम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए। यस्तै व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहलाई पनि हातपात तथा दुर्रव्यवहार भएको थियो।