दिनेश सञ्चार गृहमा सांघातिक आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गरेन
धनगढी : दिनेश सञ्चार गृहमा साँघातिक आक्रमण गर्दै पत्रकारमाथि कुटपिट गर्नेविरुद्ध प्रहरीमा जाहेरी दर्ता गरिएको भएपनि पक्राउ परेका छैनन्।
जिल्ला प्रहरी कार्यालय कैलालीमा सञ्चार गृहको कार्यालयमै पुगेर पत्रकारमाथि कुटपिट गर्नेविरुद्ध जाहेरी दर्ता गरेको दुई दिन बित्दा समेत संलग्नहरुलाई पक्राउ नगरिएको हो।
धनगढी उप–महानगरपालिका वडा नम्वर ५ बस्ने कुवेर खड्का, प्रमोद खड्का, समिर वड, चक्र रावल, सरोज थापा लगायतका २० जनाविरुद्ध सार्वजनिक हितविरुद्धको कसुरमा जाहेरी दर्ता गरिएको थियो।
तर कैलाली प्रहरीले भने उनीहरुलाई अझै पक्राउ नगरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले कुटपिटमा संलग्नको खोजी भईरहेको बताए।
प्रहरी नायव उपरिक्षक विष्टले नै दिएको जानकारीका आधारमा दिनेश खवरले धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार प्रकाशन गरेको थियो।
उनका अनुसार धनगढी उपमहानगरपालिका –१ बाट चोरी मुद्धामा भदौ २२ गते पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन। तर मृतकका आफन्तले भने उनले आत्महत्या नभई उनको हत्या भएको बताउँदै आएका छन्।
समाचारमा आत्महत्या किन लेखेको भन्दै दिनेश सञ्चार गृहको समाचार कक्षमा पुगेर व्यवस्थापक अमिता कुँवर, सह–सम्पादक जनक विष्ट र प्राविधिक कल्पनासिंहमाथि हातपात र कुटपिट गरिएको थियो।
यता नेपाल पत्रकार महासंघ कैलालीले दिनेश सञ्चार गृहमै गएर पत्रकारमाथि हातपात गर्नेलाई २४ घण्टाभित्र पक्राउ गर्न प्रशासनलाई अल्टिमेटम दिएको छ।
घटना भएको तीन दिनसम्म अपराधी समात्न नसकेको भन्दै पत्रकार महासंघ कैलाली शाखाले आजसम्म अपराधीलाई पक्राउ नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएको छ।
शनिबार कैलाली शाखाको अगुवाइमा भएको छलफलपछि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई ध्यानाकर्षण पत्र बुझाउँदै दोषीलाई पक्राउ गर्न दुई दिने अल्टिमेटम दिएको कैलाली शाखाका कोषाध्यक्ष हिमाल जोशीले बताए।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आज सम्म दोषीलाई पक्राउ गर्ने आश्वासन दिएका थिए।