धनगढीमा समुदायबाट चार दिनको अवधिमा ३ सय ६ जनाको स्वाब संकलन
धनगढी: धनगढी उप–महानगरपालिकाले कन्ट्रयाक्ट ट्रेसिङ्ग अन्तरगत समुदायबाट सोमबारसम्म ३ सय ६ जनाको पिसिआरका लागि स्वाब संकलन छ।
नगर क्षेत्रमा ट्राभल हिस्ट्री नभएका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि पिसिआर परीक्षणको दायरा बढाइएको हो। सोही अभियान अन्तरगत ६ वटा स्थानमा क्याम्प संचालन गरेको छ। जसमा संक्रमित भेटिएका परिवारका सदस्य, प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरु रहेका छन्।
‘उप–महानगरपालिकाले निरन्तर कन्ट्रयाक्ट ट्रेसिङ्गका आधारमा स्वाब संकलन गर्ने र परीक्षण गर्ने काममा जुटेको छ’ धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले भनिन्, ‘यसको दायरा बढाउदै लगिने छ। अभियान अन्तरगत सोमबार वडा नम्बर ४ उत्तरबेहडीमा रहेको राष्ट्रिय तुलसीराम माविमा क्याम्प राखेर समुदायबाट २९ जनाको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरेको पनि उप–प्रमुख भट्टले बताइन।
धनगढी उप–महानगरपालिका प्रवत्ता सन्तोष मुडभरीका अनुसार वडा नम्बर ५ को पञ्चोदय मावि, वडा नम्बर ६ को वाशुदेवी मावि, ७ को बेली शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र,१ को टिम्वर कर्पोरेशन नजिक र ४ को राष्ट्रिय तुलसीराम माविमा क्याम्प राखेर स्वाव संकलन गरिएको छ।
यस अभियानमा कोभिड उप–समितिका संयोजक नारायणप्रसाद बराल र स्वास्थ्यकर्मीको टोली फिल्डमा खटिएको प्रवत्ता मुडभरीले बताए।