सुदूरपश्चिममा आज थप ३१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६२१० पुग्यो
धनगढी : सुदूरपश्चिम प्रदेशमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेशको सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ३१ जना संक्रमित थपिएका हुन।
तीन वटै प्रयोगशालामा पछिल्लो २४ घण्टामा सात सय ५३ जनाको कोरोना परीक्षण भएको छ। सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा तीन सय ७१ जनाको कोरोना परीक्षण भएकोमा आठ जनामा संक्रमण पुष्टि भएको छ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ११ का तीन जना, वडा नम्बर २ का एकजना, कैलालीको धनगढी उपमहानगरपालिक वडा नम्बर २ का एकजना, कैलारी गाउँपालिका वडा नम्बर ३ का एकजनामा संक्रमण पुष्टि भएको हो।
यस्तै कैलालीकै टीकापुर नगरपालिका ७ का एकजना र कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ का एक जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। यस्तै डडेल्धुरा प्रयोगशालामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भुसालले आज बझाङका १० र डडेल्धुराका दुई गरी १२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार बझाङको बुङ्गल नगरपालिकाका १० र डडेल्धुराको अमरगढी नगरपालिकाका दुई जनामा संक्रमण देखिएको हो।
उनका अनुसार प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ८१ जनाको थ्रोट स्वाबको नमूना परीक्षण गरिएको छ। डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ।
एक सय एकजनाको कोरोना परीक्षण भएकोमा ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले ७ पुरुष र ४ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको बताए।
उनका अनुसार अछामको तुर्माखाँद गाउँपालिकाका ११ जनामा कोरोना पुष्टि भएको हो। यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार दुई सय १० पुगेको छ।
संक्रमण पुष्टि भएका झण्डै पाँच हजार एक सय जनाले कोरोना जितेको दावी गरिएको छ भने १४ जनाको मृत्यु भएको छ।