७ बर्ष विदेशमा पसिना बगाएर कैलाली फर्किएका शाहीको उपहार–चिकेन अचार
धनगढी : कैलालीको गौरीगंगा नगरपालिका वडा नम्वर १ का अमृत शाहीलाई मजदुरीका लागि कतार पसेको सात बर्ष पुगिसकेको थियो। उनलाई लाग्यो अब विदेशमा पसिना बगाएर साध्य हुँदैन्। आफ्नै भूमीमा श्रम गर्नुपर्छ। सोही सोच बनाएर २०७५ मंसिरमा उनी कतारबाट नेपाल फर्किए।
लक्ष्य थियो व्यवसायीक रुपमा कृषि पेशामा आवद्ध हुने। उनको इच्छा थियो विदेशबाट आफु जस्तै फर्किएका अन्य युवाले पनि अब स्वदेशमै श्रम गरुन। सोही समयमा नेपालमा विदेशबाट फर्किएका युवाहरु रिटर्नी माइग्रेट संस्था मार्फत एकजुट हुँदै थिए।
सुदूरपश्चिमका युवाहरुले पनि जिल्ला जिल्लामा रिटर्नी माइग्रेटको समिति विस्तार गरे। शाही सुदूरपश्चिम समितिको महासचिव बने। महासचिव भईसकेपछि उनलाई लाग्यो, सुरुमा आफैँबाट सुरुवात गर्नुपर्छ। उनले गौरीगंगा नगरपालिका वडा नम्वर १ मा व्यवसायीक रुपमा कुखुरा पालनमा लाग्ने योजना बनाए।
सोही योजना अनुसार उनले व्यवसायीक रुपमा कुखुरा पालन गर्नका लागि ३० लाख लगानी गरे। रोयल रिटर्नी एग्रीकल्चर कम्पनी नाम दिए। अहिले उनी चार हजार पाँच सय बोईलर कुखुरा हुर्काइरहेका छन्। हजार स्थानीय जातको कुखुरा पनि पाल्न सुरु गरेका छन्।
‘स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्येश्यले अहिले म कुखुरा पालनमा संक्रिय छु,’ उनले भने, ‘तर मेरो उद्येश्य भने बाख्रापालन र कागती खेती गर्ने हो। बाख्रा पालनका लागि खोर बनाउन सुरु गरेको छु।’
०००
व्यवसायीक रुपमा कुखुरा पालन गर्दै जाँदा उनले बदेलको मासुको अचारका विषयमा सुने। तर उनी कुखुरा पालनमा संक्रिय भएकाले उनले चिकेन अचारको स्वाद पस्किने जमर्को गरे।
उनी र उनकी श्रीमतीले युवट्युवमा हेर्दै चिकेन अचारको रेसिपी पत्ता लगाए र अचार बनाउन सुरु गरे। उनले आजदेखि चिकेन अचार बजारमा ल्याएका छन्। कैलालीका विभिन्न बजारमा उनले बनगाएको चिकेन अचार उपलव्ध हुनेछ।
‘अहिले सामान्य प्रयास मात्रै गरेका छौँ,’ उनले भने, ‘प्रतिक्रीया राम्रो आए व्यवसायीक रुपमा अगाडि बढाउने सोच छ। त्यस्का लागि सरकारी अनुमती माग्ने तयारी पनि छ।’ अहिले आधा किलो अचारको ६ सय रुपैँया मूल्य तोकिएको छ।
०००
२०७२ सालको कुरा हो। शाही पनि विदेशमै थिए। सो समयमा विभिन्न देशमा सुदूरपश्चिमेली समाज स्थापना हुने क्रम जारी थियो। कतारका अध्यक्ष शाही थिए। सोही सयममा रोजागरीका लागि विभिन्न देश पुगेका सुदूरपश्चिमवासीलाई एकजुट बनाउने योजना पनि भयो।
सामाजिक सञ्जाल मार्फत ४० देशमा काम गर्ने सुदूरपश्चिमवासी एकजुट भए। त्यस्मा शाहीले पनि नेतृत्वदायी भूमीका निर्वाह गरे। दशैँको समयमा अधिकासं नेपाली घर फर्किने हुँदा २०७४ को दशैँको समयमा धनगढीमा विदेशमा रहेका सुदूरपश्चिमेलीहरुको पहिलो भेला गर्ने योजना बन्यो।
र सोही अनुसार भेला पनि भयो। भेलाले नयाँ नेतृत्व चयन गर्दै शाहीलाई महासचिव बनायो। ‘भेलामा सुदुरपश्चिमको हितका लागि आ–आफ्नो क्षेत्रबाट गर्न सकिने सहयोग र प्रयासका बिषयमा छलफल भएको थियो,’ उनले भने, ‘बिकासको प्रचुर संम्भावनाका बोकेको क्षेत्र हुँदाहुदै पनि देशका अन्य क्षेत्र भन्दा पछाडी परेको सुदूरपश्चिमको बिकास र उत्थानका लागि प्रवासी सुदूरपश्चिमेलीहरुले खेल्न सक्ने भूमिका, बैदेशिक रोजगार र बिकल्प लगायतका बिभिन्न बिषयमा छलफल भएको थियो।’
सोही छलफलपछि अहिले धेरै विदेशमा रहेका युवाहरु स्वदेश फर्किएर यतै भविष्य खोजीरहेका छन्।’ अहिले समाजको नयाँ नेतृत्व छ। विदेशबाट फर्किएकाहरु रिटर्नी माइग्रेट मार्फत एकजुट भएका छन् भने विदेशमै रहेकाहरु सुदूरपश्चिमेली समाजमा आवद्ध छन्।
दुबै संस्थाले सुदूरपश्चिमका लागि सामाजिक कार्य पनि गर्दै आएका छन्। विदेशबाट फर्किएहरुको सयुक्त लगानीमा काम सुरु गर्ने योजना पनि छ। शाहीले भने, ‘त्यस्का लागि हामी होमवर्क गर्दैछु।’