सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कोरोना जितेका युवकले संक्रमितको उपचारका लागि दिए ‘ब्लड’

फोटो :कमल ढाट
फोटो :कमल ढाट
२०७७ भदौ २१, ०८:३९ खबर संवाददाता

धनगढीः धनगढीमा कोरोना जितेका युवकले संक्रमितको उपचारका लागि आवश्यक पर्ने रक्तदान गरेका छन्।

कोरोनाबाट संक्रमण मुक्त भएका धनगढी उप–महानगरपालिका वडा नम्बर १४ फूलबारीका २२ वर्षीय युवक सुवास गिरीले संक्रमित महिलाको प्लाज्मा थेरापीबाट उपचारका लागि रगत दान गरेका हुन्।

गिरीले रक्त सञ्चार केन्द्र धनगढीमै पुगेर केही बेर अगाडी एक पिन्ट रगत दान गरेका हुन्। उनले रक्तदान गर्दै संक्रमण मुक्त भएर संक्रमितको उपचारका लागि रगत दिन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।

‘मैले दिएको रगतले कसैको ज्यान बच्छ भने त्यो भन्दा ठुलो खुसी मेरा लागि अर्को हुन सक्दैन्।’ दिनेश खबरलाई उनले भने, ‘म जस्तै कोरोना जितेका सबैलाई गम्भीर अवस्थाका संक्रमितको जीवन रक्षाका लागि रक्तदान गरिदिन आह्वान गर्दछु।’

भारतको बैङ्लोरबाट फर्किएका गिरीलाई गत भदौँ ४ गते कोरोना पुष्टि भएको थियो। उनको दुई पटक सम्म परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको थियो।

उनले दिएको रगतबाट सेती प्रादेशिक अस्पतालको आईसियुमा उपचाररत धनगढी ५ की संक्रमित महिलालाई प्लाज्मा दिईने भएको छ।

अस्पतालका कोभिड–१९ उपचार विभाग प्रमुख डाक्टर शेरबहादुर कमरले सबै प्रक्रिया पूरा गरेर ती महिलालाई चढाईने बताए। 

सेती अस्पतालले पहिलो पटक कोरोना संक्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार गर्न लागेको हो। 

कमेन्ट लोड गर्नुस