सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी ५ का ६० जनामा कोरोना पुष्टि, वडा कसरी बन्यो ‘हटस्पट’?

२०७७ भदौ २१, ०८:१५ खबर संवाददाता

धनगढीः सामुदायिक संक्रमण देखा परेको धनगढी उप–महानगरपालिकामा शनिबार सम्म दुई सय ९८ जना कोरोना संक्रमित भेटिएका छन्।

संक्रमण पुष्टि भएका मध्ये करिब ४० प्रतिशत आन्तरिक ट्राभल हिस्ट्री भएका व्यक्ति रहेको उप–महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। उपमहानगरपालिकाका १९ वटै वडामा कोरोना संक्रमित भेटिएका बेला सबैभन्दा  बढि वडा नम्बर ५ मा २० प्रतिशत संक्रमित रहेका छन्।

शनिबार एक पुरुष र तीन महिला गरी चार जना थपिएसँगै उक्त वडामा संक्रमितको संख्या ६० पुगेको छ। उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायका अनुसार वडा नम्बर ५ को ज्ञान निकेतन टोलका मात्र २१ जना संक्रमण पुष्टि भएको छ भने थप ९७ जनाको परीक्षणका लागि नमूना संकलन गरिएको छ।

संक्रमित सबै तीन वटा घरमा बस्दै आएका व्यक्ति हुन्। उनीहरुको बाह्य ट्राभल हिस्ट्री भेटिएको छैन्। वडा नम्बर ५ मा कसरी संक्रमण फैलियो भन्ने कुराको पुष्टि गर्न नसकिएको उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उपाध्याय बताउँछन्।

तर ज्ञान निकेतन टोलमा डेरा गरी बस्दै आएका एम्बुलेन्स चालकका परिवारका सबै सदस्य, उनी बसने घरमा बस्ने सबै व्यक्ति र छिमेकमा समेत संक्रमण पुष्टि भएपछि चालकबाटै फैलिएको आशंका गरिएको छ।

‘संक्रमित चालककी श्रीमती तिजमा सामूहिक पुजामा सहभागी भएको देखिन्छ।’ जनस्वास्थ्य निरिक्षक उपाध्यायले भने, ‘उनी सहभागी पुजामा सरिक भएका अन्यलाई पनि संक्रमण देखिएको छ। चालकबाट नै सरेको भन्न मिल्दैन् तर जोखिममा भएका कारण उनैबाट फैलियो की भन्ने आशंका गरिएको छ।’

वडा नम्बर ५ कै अन्य टोलमा पनि स्थानीय संक्रमित नै धेरै छन्। उनीहरुको पनि स्रोत खोज्न नसकिएको उपमहानरपालिकाले जनाएको छ। यस्तै वडा नम्बर ५ कै जाईमा पनि ८ जनामा कोरोना पुष्टि भएको छ। उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षण गर्न नमूना संकलन गरिएको छ। 

कमेन्ट लोड गर्नुस