जन्मदिनको अवसरमा पत्रकार ऐरीद्वारा अक्षयकोषका लागि आर्थिक सहयोग
धनगढी: नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेशका संयोजक लालबहादुर ऐरीले आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोषमा रकम जम्मा गर्ने घोषणा गरेका छन्।
कान्तिपुर टेलिभिजनमा कार्यरत उनले नेपाल प्रेस युनियन डोटी शाखाले शाखाका संस्थापक अध्यक्ष तेजबहादुर खड्का(तेजु)को स्मृतिमा स्थापना गरेको अक्षयकोषमा १२ हजार दुई सय २२ रुपैंया जम्मा गर्ने घोषणा गरेका हुन्।
बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा पत्रकार खड्का बेपत्ता भएका थिए। बेपत्ता भएका खड्काको तीन वर्षपछि मात्रै कंगाल भेटिएकोमा डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो।
अक्षय कोषमा रकम जम्मा भएपछि स्व. खड्काको नामबाट पत्रकारिता पुरष्कारको घोषणा गरी वितरण गरिने प्रेस युनियन डोटीका सचिव पवन महाराले जानकारी दिएका छन्।