धनगढीमा कोरोना संक्रमित बढ्दै गएपछि सेती अस्पतालको आईसोलेसन भरिभराउ
धनगढीः धनगढीमा कोरोना संक्रमित बढ्दै गएपछि सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा भर्ना हुनेको संख्यामा समेत बृद्धि हुँदै गएको छ। शुक्रबार सम्म प्रादेशिक अस्पतालको आईसोलेसनमा ३६ जना भर्ना भएका छन्।
१९ महिला र १७ पुरुष गरी ३६ जनालाई आईसोलेसनमा राखेर उपचार भईरहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार सबैभन्दा बढि धनगढी उपमहानगरपालिकाका १३ महिला र ८ पुरुष गरी २१ जनालाई आईसोलेसनमा राखिएको छ।
दार्चुलाका तीन जना, कञ्चनपुरका ६ जना, अछामका चार जना, डोटीका एक र कैलालीकै घोडाघोडीका एक संक्रमितको पनि आईसोलेसनमा उपचार भईरहेको छ।
सेती प्रादेशिक अस्पतालको आईसोलेसनबाट अहिले सम्म ९८ जना संक्रमित निको भएर डिस्चार्ज भईसकेका छन् भने दुई जनालाई अन्यत्र रेफर गरिएको छ।