सुदूरपश्चिममा कोरोना समुदाय स्तरमा नफैलिएको प्रदेश सरकारको दावी
धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार नजिक पुगेका बेला समुदाय स्तरमा संक्रमण नफैलिएको दावी गरिएको छ। प्रदेशको अस्थायी राजधानी धनगढी उपमहानगरपालिका सहितका कतिपय स्थानीय तहमा सामुदायिक संक्रमणको चरणमा कोरोना प्रवेश गरेको भनिएका बेला प्रदेश सरकारले भने यस्तो दावी गरेको हो।
अहिले सम्म आयातित अथवा विदेशबाट फर्किएका र स्थानीय अथात् संक्रमितको सम्पर्कमा गएकाहरुबाट कोरोना संक्रमण देखिएका केसहरु रहेको बताईएको छ। तर कुनै ट्राभल हिस्ट्री र संक्रमितको सम्पर्कमै गएर कोरोना पुष्टि भएका व्यक्ति नभएकाले सामुदायिक संक्रमण नफैलिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए।
कार्कीले अहिले सम्म भेटिएका संक्रमितहरु विदेशबाट फर्किएका र कुनै न कुनै रुपमा उनीहरुको सम्पर्कमा गएकाहरु रहेको बताउँदै सामुदायिक संक्रमण पुष्टि नभएको दावी गरेका हुन्। तर सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी सहित कैलालीका ७ स्थानीय तहमा सामुदायिक संक्रमण देखा परिसकेको स्वास्थ्य कार्यालयले बताउँदै आएको छ।
यद्यपी विस्तृत अध्ययन नभएका कारण सामुदायिक संक्रमण नै हो भनेर ठोकुवा गर्ने आधार नभएको भनाई छ। स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति जयसिह भण्डारीले जिल्लामा सामुदायिक संक्रमण फैलिरहेको बताए। तर कुन ठाउँको अवस्था के छ भन्ने कुरा परीक्षणपछि मात्र थाहा हुने उनी बताउँछन्।
कैलालीपछि कोरोना भाईरसको उच्च जोखिममा रहेको कञ्चनपुरमा समेत सामुदायिक संक्रमण नदेखिएको बताईएको छ। १० वटा स्थानीय तह रहेको जिल्लामा बेलौरी नगरपालिकामा मात्र कुनै ट्राभल हिस्ट्री नभएका श्रीमान श्रीमतीमा कोरोना देखिएतापनि अन्य स्थानमा समुदाय स्तरमा संक्रमण नफैलिएको दावी गरिएको छ।
संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरु भने कुनै न कुनै रुपमा संक्रमितको सम्पर्कमा गएका कारण उनीहरु स्थानीय संक्रमणमै पर्ने स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड –१९ सम्पर्क व्यक्ति सिद्धराज भट्टले बताए।
तर प्रदेशको अस्थायी राजधानी धनगढीमा भने हाल सम्म संक्रमण पुष्टि भएका २७ प्रतिशतको ट्राभल हिस्ट्री नखुलेकाले कोरोना सामुदायिक संक्रमणको चरणमा प्रवेश गरिसकेको उपमहानगरपालिकाले बताउँदै आएको छ।
सोही कारण सामुदायिक संक्रमणको अवस्था यकिन गर्न पहिलो चरणमा ८ वडामा समुदाय स्तरमै कोरोना परीक्षण गर्ने तयारी थालिएको जनाईएको छ।