अछामका दुई वडाअध्यक्ष विरुद्ध स्थानीयले उजुरी गरेपछि पक्राउको तयारी
अछाम: अछामका दुई वडाअध्यक्ष विरुद्ध उजुरी परेको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका बडा नम्बर ५ र ६ अध्यक्ष विरुद्ध जिल्ला प्रहरी कार्यालय अछाममा उजुरी दर्ता भएको हो।
जलविद्युत आयोजनाको कुलो र खानेपानी योजना भत्काएको भन्दै वडा नम्बर ५ का अध्यक्ष कुलबहादुर बुढा र वडा नम्बर ६ का अध्यक्ष पूर्ण रावलविरुद स्थानीयले उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।
कुलबहादुर बुढाको नेतृत्वमा तालागाड लघु जलविद्युत आयोजनाको कुलो र पूर्ण रावलको नेर्तत्व निर्माणाधिन जामुने खानेपानी योजना भत्काएको आरोप छ। बुढाको नेतृत्वमा तालागाड लघु जलविद्युत आयोजनाको कुलो भत्काएको भन्दै उनीलगायत १० जनाको नाममा र वडा अध्यक्ष रावलको नेतृत्वमा जामुने खानेपानी योजना भत्काएको भन्दै उनीलगायत ८ जनाको नाममा किटानीसहित मुद्दा दर्ता भएको सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए।
उनका अनुसार दुवैजनालाई अदालतबाट अनुमती पाएलगत्तै पक्राउ गरिने छ। ‘हामीले फाइल लगेर अदालतमा बुझाइसकेका छौ, अनुमती पाएपछि दुवै वडाअध्यक्षलाई पक्राउ गरिने छ’ सूचना अधिकारी रमेशदत्त अवस्थीले भने, ‘हामीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेका छौ’।