सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा जारी निषेधाज्ञा १९ गतेसम्म लम्ब्याइयो

२०७७ भदौ १२, ०७:०४ खबर संवाददाता

डडेल्धुरा : डडेल्धुरामा जारी निषेधाज्ञा आगामी भदौ १९ गतेसम्म थपिएको छ। जिल्लास्तरीय कोभिड–१९ जोखिम व्यवस्थापन समिति (डीसीसीएमसी) को शुक्रबारको बैठकले उक्त निणय गरेको हो। शुक्रबार सुचना जारी गर्दै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्लामा जारी निषेधाज्ञा लम्ब्याइएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए।

जिल्लामा संचालित अतिआश्यक सेवा तथा बस्तुहरु बिक्री वितरण गर्ने पसलहरू बाहेक सम्पूर्ण पसलहरू शुक्रबारदेखि भदौ १९ गतेसम्मका लागि बिहान ६ बजेदेखि ११ बजेसम्म मात्रै संचालन गर्न पाउने छन्। पलस संचालन गर्दा सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने उनले बताए।

बैंक तथा वित्तीय संस्थाहरू बिहान ८ बजेदेखि १२ बजेसम्म मात्रै संचालनमा रहने छन्। जिल्लामा संचालित निजी तथा सार्वजनिक सवारी साधन तथा मोटरसाइकलहरूलाई शुक्रबारदेखि नै जोर–बिजोर प्रणाली लागू गरिएको जारी सुचनामा उल्लेख गरिएको छ।

सुदूरपश्चिमका सात पहाडी जिल्लाको केन्द्र विन्दुको रुपमा रहेको डडेल्धुरा जिल्ला भएर आउने जाने ढुवानी सवारीसाधनहरूलाई बिना काम जिल्ला सदरमुकाममा पार्किङ गर्न नपाउने र सदरमुकाममा मालसमान लोडअनलोड समेत बिहान ८ बजेभित्र गराइ गन्तव्य स्थलतर्फ जानुपर्ने डीसीसीएमसीले निर्णय गरेको छ।

निर्णयको उल्लंघन हुने क्रियाकलाप कसैबाट भए गरेमा संक्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रशासन कार्यालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस