आलितालका पहिरो पीडितलाई एकिकृत विकास समाजद्वारा सहयोग
धनगढी: डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकाका पहिरो पीडितलाई एकिकृत विकास समाज(आइडिइस)ले सहयोग गरेको छ।
चुरे श्रृंखला क्षेत्रबाट पहिरो खस्दा गाउँपालिकाको वडा नम्बर ७ का बलौचा, ओबा, ऐरानी, धुपखेडा र खिन्नेभाडी गाउँका ३५ परिवार बिस्तापित भएका थिए। ती सबै परिवारलाई आइडिइसले ३५ थान त्रिपाल सहयोग गरेको छ।
अन्तराष्ट्रिय गैर सरकारी संस्था मर्सिकोर नेपालसँगको सहकार्यमा सो संस्थाले कार्यान्वयन गरिरहेको आर्थिक विकास मार्फत विपद जोखिम न्युनिकरण परियोजना (एमरेड तेस्रो चरण)मार्फत त्रिपाल सहयोग गरेको संस्थाकी कार्यकारी निर्देशक पदमा गुरुङले बताइन।
यस्तै पीडितलाई ग्रामिण जलस्रोत परियोजनामार्फत सरसफाई सामग्री समेत सहयोग गरेको उनले बताइन। ती सामग्री गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङलाई हस्तान्तरण गरेको कार्यक्रम संयोजक गणेशथापा मगरले बताए।
कोरोनाको महामारीका बेला एकिकृत विकास समाजले यसअघि डडेल्धुराका स्थानीय तहलाई क्वारेन्टिन व्यवस्थापनका लागि विभिन्न सामग्री सहयोग गरिसकेको छ।