सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा फैलिदै समुदायमा कोरोना, स्थानीय संक्रमितको संख्या ३५, को हुन उनीहरु ?

२०७७ भदौ ९, ०७:२५ खबर संवाददाता

धनगढी : सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण फैलिदै गएको छ। अहिले धनगढीमा स्थानीय संक्रमितको संख्या ३५ पुगेको धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

सोमवार धनगढीका १३ जनामा कोरोना पुष्टि भएकोमा १२ जना स्थानीय संक्रमित रहेको धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले बताए। उनले १२ जनाको बाह्य ट्राभल हिस्ट्री नभेटिएको बताए।

ट्राभल हिस्ट्री नभएका १२ जना मध्ये वडा नम्वर ४ का एकैपरिवारका चार जना र वडा नम्वर ३ का एकैपरिवारका ५ जना रहेका छन्। वडा नम्वर ३ का अर्का एक जना व्यापारीमा पनि संक्रमण पुष्टि भएको छ।

वडा नम्वर ४ को संक्रमित परिवार शिक्षिकाको हो भने वडा नम्वर ३ को ५ जनाको संक्रमित परिवार व्यापारीको हो। वडा नम्वर १ का दुई स्थानीय संक्रमित मध्ये एक शिक्षिका र एक स्टाफ नर्स हुन्।

उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उपाध्यायले हाल सम्म धनगढीका एक सय ९५ जनामा संक्रमण पुष्टि भएको बताउँदै ३५ जनाको ट्राभल हिस्ट्री नभेटिएको बताए।

अहिले सम्म ट्राभल हिस्ट्री नभएका ६ जना स्वास्थ्यकर्मी, ५ जना सुरक्षाकर्मी, चार जना शिक्षक र दुई जना चालकमा संक्रमण पुष्टि भएको छ। 

यस्तै चार जना व्यापारी, दुई जना निर्माण कम्पनीमा कार्यरत कर्मचारी र एक जना बैंकका कर्मचारीमा पनि ट्राभल हिस्ट्री बिना नै कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै चार जना व्यापारीका परिवारका सदस्य र तीन जना संक्रमित शिक्षिकाका परिवारका सदस्यलाई पनि कोरोना देखिएको छ। बाँकी चार जना भने सर्वसाधारण हुन्।

उनीहरुमध्ये एक जना संक्रमितको मृत्यु भईसकेको उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए।

नेपालमा पहिलो पटक स्थानीय संक्रमण धनगढीमै फेला परेको थियो। दुबईबाट फर्किएका धनगढी–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा चैत १४ गते कोरोना संक्रमण पुष्टि भएकोमा चैत मसान्तमा नेपालमा पहिलो पटक स्थानीय संक्रमण उनकी भाउजुमा देखिएको थियो।

कमेन्ट लोड गर्नुस