सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँचो स्याउ बजारमा

२०७७ भदौ ४, १२:१५ रासस

जुम्ली काँचो स्याउ यहाँको बजारमा देखिन थालेको छ। जुम्ली स्याउ पूर्ण रुपमा पाक्न १२ प्रतिशत गुलियोपना र ७० प्रतिशत रङ चढिसकेको हुनुपर्छ। जुम्ला जिल्लाका तातोपानी र तिला गाउँपालिकामा उत्पादित स्याउ नपाक्दै बजारसम्म पुगिसकेको छ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाका अनुसार दुई स्थानीय तहबाट झण्डै ६० टन स्याउ बजारसम्म पुगिसकेको छ। यस पटक व्यापारीले नपाक्दै स्याउ सुर्खेत बजारमा लगेको उनले बताए।

उनले भने, “भदौ १० गतेभन्दा तल सिफारिस नदिनका लागि आग्रह गरेका थियौँ। यहाँका स्थानीय तहका वडाध्यक्षले मनपरी रुपमा ढुवानीका लागि सिफारिस दिँदा काँचो स्याउ रोक्न सकिएन  जसले जुम्ली स्याउको गुणस्तरीयतामाथि प्रश्नचिन्ह खडा हुन पुग्यो।”

स्थानीय तहले महत्व बुझ्न नसक्दा बजारमा काँचो स्याउ पुगेको कार्यालय प्रमुख देवकोटाले बताए। हरितालिका  नजिकिँदै गरेकाले यहाँका व्यापारी काँचो स्याउ उठाउन हतारिएका हुन्। यस पटक स्याउ उत्पादन निकै कम हुने सम्भावना छ। कृषि कार्यालयले पाँच हजार एक सय मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरेको छ। उत्पादन कमी हुँदा स्याउको महत्व बढ्ने भएकाले स्याउ टिप्न हतारो नगर्न कृषि विकास कार्यालयले आग्रह गरेको छ।  

जिल्लामा गोल्डेन, रोयल, रेड, जोनाथन, स्वीच एमी र चक्लेट जातको स्याउ उत्पादान हुने गरेको छ। पछिल्लो समयमा अष्ट्रेलियाली जातको फुजी स्याउसमेत जिल्लामा खेती गरिएको छ।  बन्दाबन्दी र  निषेधाज्ञाले पाकेको स्याउ सुर्खेत र नेपालगञ्ज लैजान ठूलो समस्या खडा हुने हो कि भनेर यहाँका स्याउ किसानमा निराशा छाएको तिला गाउँपालिका – १ का स्याउ किसान गोर्ख बस्नेतले बताए। गत वर्ष जिल्लामा १२ हजार मेट्रिक टन स्याउ फलेको थियो।
 

कमेन्ट लोड गर्नुस