दार्चुलामा ढुंगा लागेर हाइड्रोपावरका कामदारको मृत्युु
दार्चूलामा ढुंगा लागेर एक जनाको मृत्यु भएको छ। दार्चुलास्थित मकरीगाड हाइड्रोपावरमा काम गर्ने अपिहिमाल गाउँपालिका–५ मकरीगाडका २९ वर्षिय सुनिल धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
मंगलबार दिउसो १ बजे तिर हाइड्रोपावरको पोल बोक्ने क्रममा माथीबाट खसेको ढुंगा कम्मरमा लाग्दा गम्भिर घाइते भएका धामीको उपचारका लागी गोकुलेश्वर अस्पताल ल्याउदै गर्दा मार्मा गाउँपालिकाको सिमार भन्ने ठाउँमा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक सुनिलको शव पोष्टमार्टमका लागी गोकुलेश्वर अस्पतालमा राखिएको छ। अपिहिमाल गाउँपालिका–५ मकरीगाडमा १० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणाधिन अवस्थामा छ। उक्त आयोजनाको निर्माण मकरीगाड हाइड्रोपावर प्रा.लिले गरिरहेको छ ।