डडेल्धुरा सदरमुकामका सडक मै बग्छ ढल
डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकामा पर्ने सदरमुकाम क्षेत्रमा नाली थुनिदा सडक हिलाम्य हुने गरेको छ। नाली थुनिएर सडकमै पानी बग्ने गरेपछि भीमदत्त र अमरगढी नगरभित्रका शाखा सडकमा हिँडडुल गर्न समस्या हुने गरेको स्थानीयले गुनासो गरेका छन्।
ढल निकासको व्यवस्थापन हुन नसक्दा तथा नालीमा स्लयाप नहालिँदा नाली थुनिएका हुन। स्थानीयले घर बनाउँदा र व्यापारीले गाडीमा मालसामान लोड गर्दा सहजतका लागि माटो हालेर नाली पुर्ने गरेका छन्।
भएका नालीमा पनि खानेपानीका पाइपलाइन छन्। ठाँउ–ठाँउमा नाली थुनिएपछि सडक र बाटो भत्किदै गएको हो। एक दशकअघि कालोपत्रे भएका सडक अहिले कच्चि जस्तै भएका छन्। सडक समेत भत्किन थालेपछि दुई पांग्रे गाडी सञ्चालनमा कठिनाई हुने गरेको छ। जसले गर्दा दुर्घटनाको जोखिम बढेको सवारी चालकहरुले बताएका छन्।
यस्तै बाटोका दुवैतर्फ खानेपानीका पाइपलाइन बिछाईएका कारण पनि सडक हिलाम्य बनेको छ। ३० करोड ६२ लाखमा सुरु भएको साना शहरी खानेपानी योजनाका पाइपलाइन नाली किनार र सडक छेउमा हालिएका छन्। कालोपत्रे भएका सडक छेउछाउ फुटाई खानेपानीका पाईन लाईन बिछाइएपछि नाली पुरिदा सडकमा खोलो बग्ने गरेको छ।
एक दशकअघि नगरभित्र कालोपत्रे भएका सडक तुफानडाडा–विद्युत–खलङ्गा, तुफानडाडा–डडेल्धुरा अस्पताल, बागबजार–अदालत, वन कार्यालय सडक अहिले कच्चि जस्तै भएका छन्।
पञ्चायती व्यवस्थामा पिसिसि गरी बनाईको बागबजार–खलंगा पैदल बाटो पनि जिर्ण अवस्थामा छ। ती सडक र बाटो निर्माणका लागि स्थानय सरकारसँग पटकपटक गुहार गरेपनि सुनुवाई नभएको स्थानीय श्याम सिनालले बताए।
तुफानडाँडा–विद्युत–खलंगा जोड्ने सडक पुनः निर्माणका लागि समुदायले निर्णय गरी स्थानीय सरकारसँग माग राखेका थिए। तर कुनै सुनुवाई नै नहुने गरेको स्थानिय लक्ष्मणसिंह महरले बताए।