धनगढी उप–महानगरपालिकाले कालोपत्रे गरेका अधिकांस सडक एक वर्ष नबित्दै भत्किए
धनगढीः धनगढी नगर क्षेत्रमा निर्माण गरिएका अधिकांश सडक एक वर्ष नबित्दै भत्किएका छन्। उप–महानगरपालिकाले कालोपत्रे गरेका अधिकांश सडक निर्माणको एक वर्ष नबित्दै भत्किएका हुन्। मापदण्ड मिचेर कमसल काम गरिएपछि सडक भत्किएको आरोप स्थानीयले लगाएका छन्। उनीहरुले आर्थिक वर्षको अन्तमा आएर कमसल काम गरी बजेट खर्च मात्रै गरिएपछि एउटै वर्षाले कालोपत्रे बगाएको आरोप समेत लगाएका छन्।
धनगढी उप–महानगरपालिका वडा नम्बर ३ शान्ती टोलका स्थानीय बासुदेव रानाले कालोपत्रे सडक धेरै ठाउँमा भत्किएको बताए। ‘एक साल मात्र भएको छ। भत्किएका छन्। खाना बहाना मात्र भयो। कालो पोतेर कालोपत्रे भनिएको छ।’ उनले भने। स्मार्ट सिटीको नारा लगाउने धनगढी उप–महानगरपालिकाले नगर क्षेत्रमा कालोपत्रे गरेका सडक एक वर्ष नबित्दै भत्किए पछि न्युन गुणस्तरका निर्माण सामाग्रीको प्रयोग भएको आशंका गरिएको छ।
साउनमा परेको वर्षासँगै अधिकांश कालोपत्रे सडक भत्किएका छन्। मापदण्ड मिच्दै सडकमा कमसल निर्माण कमसल सामाग्रीको प्रयोग गरिएको रानाले बताए। उनले भने, ‘वडाध्यक्ष भाई, ठेकेदार दाई अनि कसरी सडक गुणस्तरीय हुन्छन्?’ बर्षातको पानीले सडकमा खाल्डा खुल्डी भएपछि आवत जावतमा समेत समस्या रहेको छ। उनीहरुले जनप्रतिनिधिकै मिलेमतोमा कमसल काम गरिएको आशंका समेत व्यक्त गरेका हुन्।
उनीहरुले आर्थिक वर्षको अन्तमा आएर हतारहतारमा कालोपत्रेका नाममा बजेट दुरुपयोग गर्दै मापदण्ड विपरीत काम भएपछि सडक भत्कीएको भन्दै आफूहरुले बुझाएको करको दुरुपयोग भएको बताएका छन्। धनगढी उप–महानगरपालिकामा पछिल्लो दुई आर्थिक वर्षमा निर्माण गरिएका अधिकांश सडकमा अहिले खाल्डै–खाल्डा छन्। उप–महानगरपालिकाको वडा नम्बर १, २, ३ र ४ का नयाँ सडकको कालोपत्रे वर्षातको पानीले बगाएको छ।
धनगढी उप–महानगरपालिका वडा नम्बर ४ का स्थानीय मनोज राना मगरले ठुला सवारी सञ्चालन गरिएकाले सडक एक वर्ष नहुँदै भत्किएको बताए। उनले भने, ‘हतारमा कालोपत्रे गरिएको थियो। नौ लाख बढि खर्च भएको भनिएको छ। दुई सय मिटर हो। तर केहि ठाउँमा भत्किएको छ।’ तर धनगढी उप–महानगरपालिका आफैले कालोपत्रे गरेका सडक भत्किएको विषयमा अनभिज्ञ देखिएको छ।
उक्त विषयमा जानकारी नभएको भन्दै अनुगमन निरक्षण गरी आवश्यक कदम चाल्ने उप–महानगरपालिकाका डिभिजन ईन्जिनियर दिजराज भट्ट बताउँछन्। ‘कुन निकायको सडक भत्किएका हुन्। अनुगमन पछि मात्र थाहा हुन्छ। अन्य निकायका पनि हुन सक्छन्। हामी अनुगमन गर्छाै’ तर प्रदेशमै एकमात्र धनगढी उप–महानगरपालिकाले स्मार्ट सिटीको नारा लगाउँदै आएको छ।
कार्य सम्पादन मूल्याङ्कनमा देशकै उत्कृष्ट नगर घोषित भएको उपमहानगरपालिकाले निर्माण गरेका सडक भने एक वर्ष नबित्दै भत्कीएपछि नगर क्षेत्रकै मुहार कुरुप बनाएको छ भने नगरबासीलाई आवातजावतमा सास्ती भएको छ।