कैलालीमा रकम असुलेर भारतीयलाई प्रवेश दिने सुरक्षाकर्मीलाई कारवाही भएन
धनगढीः कैलालीमा रकम असुलेर भारतीय नागरिकलाई प्रवेश दिएको विषयमा छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन ढिलाई गरिएको छ।
त्रिनगर भन्सार नाकाबाट रकम असुल्दै कोरोना महामारीका बेला भारतीय नागरिकलाई प्रवेश दिने कार्यमा संलग्न सुरक्षाकर्मीको पहिचान गरी कारवाहीको दायरामा ल्याउन ढिलाई गरिएको हो।
सीमामा खटिने सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकारीहरुले विचौलियासँगको सेटिङमा प्रतिव्यक्ति पाँच हजारका दरले रकम असुलेर नेपाल प्रवेश दिएको आरोप लागेपछि छानविन समिति गठन गरिएको थियो।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै समिति गठन गरी छानविन गरेर उपल्लो निकायलाई प्रतिवेदन बुझाईसकेका छन्।
स्रोतका अनुसार छानविन समितिले संलग्न अधिकारीको पहिचान गरी कारवाहीका लागि सिफारिस गर्नुपर्नेमा उनीहरुको संरक्षण गर्ने गरी प्रतिवेदन पेश गरेका छन्। तर सशस्त्र प्रहरीले भने रकम असुलीमा आफ्ना अधिकारीको संलग्नता नदेखिएको दावी गरिरहेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र कुँवरले छानविन प्रतिवेदन पेश गरिसकेको जानकारी दिए। तर रकम असुलीमा कुनै पनि अधिकारीको संलग्नता नदेखिएको उनले बताए।
तर सशस्त्र प्रहरीले संलग्न अधिकारीहरुमाथि कारवाही गर्नुको सट्टा संरक्षण दिएको आरोप लागेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैजनाथ बाहिनीले भने कोरोना महामारीका बेला पेशागत मर्यादा विपरीत काम गर्ने जुनसुकै अधिकारीलाई पनि कानूनको दायरामा ल्याईने जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैजनाथ बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरिक्षक शंकर बुढाथोकीले छानविनबाट दोषी देखिनेलाई कानुन अनुसार कारवाही गरिने बताए। रकम असुली प्रकरणमै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो।
उक्त समितिले प्रतिवेदन तयार गरी माथिल्लो निकायमा पेश गरिसकेको छ। तर प्रतिवेदनमा के कुरा उल्लेख गरिएको छ भन्ने खुलाईएको छैन्। यद्यपी दोषी देखिएकाहरुलाई कानून अनुसार कारवाही हुने कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जबरा बताउँछन्।
सशस्त्र प्रहरी र नेपाल प्रहरीले रकम असुली गरी भारतीय नागरिकलाई प्रवेश दिएको विषयमा अध्ययन गर्न गठित छानविन समितिले प्रतिवेदन बुझाईसकेका बेला प्रदेश कार्यालयले पनि आन्तरिक छानविन नटुङ्गिएको दावी गरेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक उत्तमराज सुवेदीले प्रतिवेदन पेश भएपनि थप अनुसन्धान भईरहेको बताए। उनले भारतबाट आएका भनिएकाहरुसँग सोधपुछ गर्ने काम भईरहेकाले दोषीलाई कानूनी कारवाही गरिने जनाए।
तर कोरोना महामारीका बेला सीमानाकामा खटिएका सुरक्षाकर्मीले विचौलीयाको सहयोगमा रकम असुल्दै भारतीय नागरिकलाई प्रवेश दिएपछि जोखिम बढेको छ।
भारतमा दैनिक हजारौँ संक्रमित भेटिरहेका बेला सुरक्षाकर्मीकै संरक्षणमा स्वास्थ्य परीक्षण र क्वारेन्टिनमा नबस्नेगरी उनीहरुलाई भित्र्याईन थालिएको आरोप लागेको छ। जसले गर्दा समुदाय स्तरमा संक्रमण फैलिने जोखिम बढेको छ।