सुदूरपश्चिममा समुदाय स्तरमा समेत कोरोना परीक्षण सुरु
धनगढीः स्वास्थ्य कार्यालय बाजुराले गत साता सात सय ८६ जनाको थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि काडमाडौं पठायो। डडेल्धुरा तथा धनगढी ल्याउनका लागि सडक सञ्जाल बन्द भएकाले हेलिकोप्टर मार्फत स्वाब काठमाडौं पठाइएको हो।
काठमाडौंमा भएको परीक्षणमा तीन जनाको मात्र कोरोना रिर्पाेट पोजेटिभ आएको छ। भारतबाट फर्किएका र समुदाय स्तरबाट समेत थ्रोट स्वाबको नमूना संकलन गरिएकोमा तीन जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो। उनीहरु तीनै जना भारतबाट फर्किएका हुन्। तर समुदाय स्तरमा कोरोना फैलिएको नभेटिएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए। ‘स्वास्थ्य निर्देशनालयको निर्देशनपछि भारतबाट फर्किएकासंग समुदाय स्तरबाट समेत नमुना संकलन गरेका थियौँ। सडक पहिरोका कारण बन्द भएकाले हेलिकोप्टर मार्फत काडमाण्डौ पठायौ। भारतबाट फर्किएका तीन जनामा कोरोना भेटिएको छ। तर समुदाय स्तरमा भने संक्रमण फैलिएको भेटिएको छैन्।’ उनले भने।
सुदूरपश्चिममा समुदाय स्तरमा समेत कोरोना परीक्षण सुरु गरिएको हो। प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयले गत साता स्वास्थ्य कार्यालयलाई समुदाय स्तर तथा कोरोना संक्रमितको परिवारका दुई जना सदस्यको अनिर्वाय थ्रोट स्वाबको नमूना संकलनका लागि निर्देशन दिएको थियो। पहिलो चरणमा स्वाब संकलन गरी अहिले परीक्षण भईरहेको छ। नेपाल सरकारको निर्देशन अनुसार प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयले प्रदेशका नौ वटै स्वास्थ्य कार्यालयलाई समुदाय स्तरबाट समेत थ्रोट स्वाबको नमूना संकलन गर्न निर्देशन दिएको थियो। सोही निर्देशनका आधारमा स्वास्थ्य कार्यालय र प्रदेशका स्थानीय तहले सामुदाय स्तरबाट समेत थ्रोट स्वाबको नमूना संकलन गरेका स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले बताए। उनले भने, ‘बैँक तथा विभिन्न कार्यालयबाट थ्रोट स्वाबको नमूना हामीले संकलन गर्दैछौ। समुदाय स्तर र संक्रमितका परिवारका दुई सदस्यको थ्रोट स्वाबको नमूना स्थानीय तहले संकलन गर्दैछन्। परीक्षणको दरमा समेत बृद्धि भएको छ।’
कोरोना भाइरसको संक्रमण पुष्टि भएकाहरुका परिवारका कम्तिमा दुई जना सदस्यको थ्रोट स्वाबको नमूना संकलन गर्न भनिएको थियो। सोही आधारमा स्वास्थ्य कार्यालयले थ्रोट स्वाबको नमूना संकलन गरिरहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए। डोटीमा समेत समुदाय स्तरबाट कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन र डडेल्धुरा प्रयोगशाला मार्फत परीक्षण गरिएको उनले बताए। तर डोटीमा समेत समुदाय स्तरबाट संकलन गरिएको नमूना संक्रमण नदेखिएको मलासीले बताए।
प्रदेशको सामाजिक विकास मन्त्रालयले समुदाय स्तरसंगै सीमा नाकाबाट समेत नमूना संकलन गर्ने बताएको थियो। सीमा नाकाबाट भने थ्रोट स्वाबको नमूना संकलनको काम सुरु भएको छैन्। कोरोना परीक्षण प्रयोगशालाको संख्या बढेसंगै परीक्षणको दायरा समेत बृद्धि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शाखा प्रमुख नरेन्द्र कार्कीले बताए। भारतबाट आएर संक्रमण पुष्टि भएका परिवारका सदस्य र छिमेकीमा संक्रमण नदेखिएको दावी स्वास्थ्य कार्यालयहरुको छ। तर भारतबाट आएकाहरुको उद्धारमा खटिएका सुरक्षाकर्मी, क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी, भान्से, एम्बुलेन्स चालक लगायतमा भने संक्रमण देखिएको छ।