सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा संघीय सरकारले निर्माण गरेको थारु संग्राहालय सञ्चालन भएन

२०७७ साउन २३, ०१:०१ कमल सावद

धनगढीः तीन परिवार बाहेक सबै थारु समुदायको बसोबास रहेको धनगढी उप–महानगरपालिका वडा नम्बर ७ पटेलामा थारु संग्राहालय निर्माण हुने भएपछि स्थानीय हर्षित थिए। धनगढीको क्याम्पस चौकदेखि झण्डै पाँच किलोमिटरको दुरीमा रहेको पटेलामा एक सय थारु परिवारको बसोबास छ।

थारु समुदायका परम्परगत वस्तुहरु संग्राहालयमा राखिने र पर्यटक पनि अवलोकनका लागि आउने भन्दै उनीहरु हर्षित थिए। तर शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढीले संग्राहालयको भवन हस्तान्तरण गरेको एक वर्ष हुँदा पनि सञ्चालनको कुनै तयारी नभएपछि उनीहरु निराश भएका छन्।

पटेलाका स्थानीय पारु चौधरीले भवन निर्माण हुने जानकारी पाएको समयमा धेरै हर्षित भएको बताए। तर गत एक वर्षदेखि निर्माण सकिएको भवनमा संग्राहालय सञ्चालनका लागि कुनै काम नभएपछि निरास बनाएको उनी बताउछन्। तीन करोडको लागतमा निर्माण सम्पन्न भएको संग्राहालयमा थारु समुदायका परम्परागत वस्तु तथा सामाग्री राखिने छन्।

जसले परम्परागत वस्तुहरुको संरक्षण हुने अपेक्षा गरिएको छ। थारु समुदायको चालचलन र परम्पराको समेत संरक्षण र प्रचार÷प्रसार हुने अपेक्षाले संग्राहालयको भवन निर्माण गरिएको हो। तर संग्राहालयका लागि भवन निर्माण पूर्ण भएको लामो समय हुँदा पनि सञ्चालन नभएपछि स्थानीय निरास भएका छन्।

चाँडो संग्राहालय सञ्चालनमा ल्याउनुपर्ने उनीहरुको माग छ। चौधरीले भने, ‘संग्राहालय सञ्चालन भएपछि रोजगारी पनि सञ्चालन हुने थियो। थारु समुदायका परम्परगत वस्तु र पहिचान झल्काउने वस्तु समेत राखिने थिए। पर्यटकहरु आउने थिए। गाउँको रमाईलो वातावरण समेत छ।’

थारु संग्राहालय सञ्चालनका लागि अधिकार पाएको एक वर्ष हुँदा पनि उप–महानगरपालिकाले चाँसो दिएको छैन्। संग्राहालय सञ्चालनका लागि स्थानीयलाई अधिकार दिने वा आफै सञ्चालन गर्ने भन्ने विषयमा समेत अझै अन्यौलता छ। स्थानीयसँग समेत छलफल भएको छैन्।

तर धनगढी उप–महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष सिताराम रानाले थारु संग्राहालय चाडै सञ्चालन हुने बताए। उनले भने, ‘थारु संग्राहालय चाँडै सञ्चालन हुन्छ। उप–महानगरपालिकाले आफै सञ्चालन गर्न भनेको छ।’

धनगढीमा संघिय सरकारले निर्माण गरेको थारु संग्राहालय सञ्चालनमा उप–महानगरपालिकाले उदासिनता देखाएको हो।

शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढीले एक वर्ष पहिले नै निर्माण सम्पन्न गर्दै संग्राहालयको भवन उप–महानगरपालिकालाई सञ्चालनका लागि हस्तान्तरण गरेको थियो।

तर उप–महानगरपालिकाले संग्राहालय सञ्चालनमा चासो नदिएको हो। धनगढी उप–महानगरपालिका वडा नम्बर ७ पटेलामा निर्माण गरिएको संग्राहालयको भवन अहिले हेरालुका भरमा छाडिएको छ।

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस