डडेल्धुरा अस्पतालले एक महिनामा ३ हजार बढीको कोरोना परीक्षण गर्यो
धनगढी: चन्दा संकलन गरेर डडेल्धुरा अस्पतालमा स्थापना गरिएको पिसीआर मेसिनबाट एक महिनाको अवधिमा ३ हजार ९४ जनाको नमुना परीक्षण गरिएको छ।
उक्त मेसिनबाट गत असार १८ गतेदेखि परीक्षण सुरु भएको थियो। हालसम्म परीक्षण भएका नमूना मध्ये १ सय ९९ पोजेटिभ र २ हजार ८ सय ९४ नगेटिभ नतिजा आएको अस्पतालका ल्याब इञ्चार्ज इश्वरी भुसालले जानकारी दिए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको गुणस्तर मापनमा शत प्रतिशत उत्तम देखिएको प्रयोगशालाले अहिले सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लालाई सेवा दिइरहेको छ।
सुरुमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका इञ्चार्ज रमेश शाही र काठमाडौंबाट आएका इञ्जिनियर सहितको टोलीले पिसीआर मेसिनको गुणस्तर परीक्षण गरेका थिए। अहिले डडेलधुरा अस्पतालका ल्याब इञ्चार्ज इश्वरी भुसालको नेतृत्वमा ४ जनाको टिमले उक्त मेसिनबाट कोरोना परीक्षण गरिरहेको छ।
यसअघि धनगढीको प्रयोगशालामा भर परेका सम्पूर्ण पहाडी जिल्लालाई उक्त ल्याबले सहज भएको छ। डडेल्धुरा अस्पतालको ल्याबले अन्य सेवामा समेत स्तरबृद्धि गरेकाले सेवा लिन आउने बिरामीको चाप बढीरहेको ल्याब इञ्चार्ज भुसालले बताए। डडेल्धुरामै ल्याबसम्बधी सम्पूर्ण सेवा पाइने भएपछि आम नागरिकको समय र पैसा दुवै बचत भएको बताइएको छ।