सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा वषौँदेखि राजनीतिक पहुँचमा भर्ना भएका कर्मचारीको राज !

२०७७ साउन १६, १२:०४ जनक विष्ट

धनगढीः धनगढी उप–महानगरपालिकामा जनप्रतिनिधि आएपछि प्रमुख प्रशासकिय अधिकृत नटिक्ने समस्या देखिएका बेला साविकको स्थानीय निकायका कर्मचारीको खराब भूमिकाका कारण तल्लो तहका कर्मचारी पनि समस्यामा पर्न थालेका छन्।

नगरपालिका हुँदा राजनीतिक पहुुँचका आधारमा भर्ना भएर आन्दोलन गरी बढुवा भएका कर्मचारीले निजामती सेवाबाट आएका कर्मचारीलाई अनावश्यक तनाव तथा दबाब दिदै आएपछि अस्तव्यवस्तता बढ्न थालेको गुनासो गरिएको छ।

उप–महानगरपालिकामा केही दिन पहिले भएको दिसा काण्ड पनि स्थानीय कर्मचारीले बदनाम गराउने उद्देश्यले नियोजित रुपमा घटाएको दावी गरिन थालिएको छ।  २०७६ साल साउन ७ गते सरुवा भएर धनगढी उप–महानगरपालिकामा हाजिर भएका प्रशासन समूहतर्फका सातौँ तहका शाखा अधिकृत सत्यराज जोशीलाई झण्डै दुई महिना २० दिन सम्म कुनै जिम्मेवारी दिईएको थिएन।

जोशीले त्यो समयमा हाजिर लगाउँदै घर फर्किनुपरेको थियो भने लामो रस्साकस्सी पछि योजना तथा बजेट शाखाको जिम्मेवारी दिइयो तर विगतदेखि डेरा नै जमाएका कर्मचारीले बारम्बार जोशीलाई दबाब र प्रभावमा राख्दै आए। जोशीले नमानेपछि सार्वजनिक रुपमा बदनाम गर्ने मनसायका साथ कुर्सीमा दिसा राख्ने सम्मका हर्कत भएको दावी गरिएको छ।

साउनमै समायोजन रोजेर आएका नायब सुब्बा विष्णु जोशीलाई त उप–महानगरपालिकामा हाजिर सम्म लगाउन दिईएन। सुरुका दिनमा हाजिर लगाएर घर फर्किने गरेका जोशीलाई प्रशासन शाखा प्रमुख नारायण शर्माले सार्वजनिक रुपमा कार्यालय नआउन भनेको दावी गरिन्छ भने पछि वडा नम्बर १८ को कार्यालयमा काम गर्न भनियो तर जोशी दबरन्दी नै नभएको ठाउँमा काम गर्न नसकिने देखेपछि पुनः समायोजन रोजेर अन्यत्रै गएको बताईएको छ।

अहिलेकी लेखा अधिकृत सरस्वती जोशीलाई समेत लामो समय सम्म भूमिका विहिन बनाएर राखेको दावी उप–महानगरपालिका कार्यालय स्रोतको छ। यस्तै प्रशासनतर्फका शाखा अधिकृत सातौँ तहका बागेश्वर ओझा, हरीसिह साउँद लगायतका कर्मचारीलाई समेत भूमिका विहिन बनाईएको थियो। तर पछि उनीहरुलाई व्यवस्थापन गरेपछि भिन्न फाँटको जिम्मेवारी दिईएको छ।

यसअघि प्रशासन तथा जनशक्ति व्यवस्थापन शाखा हेर्दै आएका सातौँ तहका साउँदलाई हटाएर साविक स्थानीय निकायबाटै आएका छैठौँ तहका नारायण प्रसाद शर्मालाई जिम्मेवारी दिईएको थियो। जबकी शर्मा स्थानीय सेवाबाट आएका मात्र नभई साउँद भन्दा एक तह जुनियर पनि हुन्। यसरी उप–महानगरपालिकामा समायोजन भएर आएका कर्मचारीहरुलाई काम गर्न नदिने वातावरण सिर्जना गर्नमा साविक स्थानीय निकाय हुँदा देखि नै कार्यरत केही कर्मचारीको समूह सक्रिय रहेको दावी गरिन्छ।

आफूहरुलाई पूरानो कर्मचारी बताउँदै उनीहरुले मुख्य भूमिकामा बसेर निजामती सेवाबाट आएका कर्मचारीमाथि शासन गर्न खोज्दा तालमेल नमिलेपछि समस्या हुदै आएको छ। उनीहरुले तह अनुसारको जिम्मेवारी बाँडफाँडमा अवरोध सिर्जना गर्दै आएका छन्। तल्लो तहका कर्मचारी मात्र नभएर जनप्रतिनिधिलाई समेत प्रभावमा पारेर उनीहरुले प्रमुख प्रशासकिय अधिकृतलाई समेत आफ्नो काबुमा राख्ने तर अनुकुल काम नगरेपछि काम गर्न नदिने वातावरण बनाएर सरुवा हुन बाध्य बनाउदै आएको आरोप समेत लाग्ने गरेको छ।

फलस्वरुप उप–महानगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत समेत लामो समय नटिक्ने समस्या छ। निर्वाचित जनप्रतिनिधिहरुलाई समेत आफ्नो वरीपरी घुमाउन सफल भएका ती कर्मचारीका कारण उनीहरु बेला बखत विवादमा आउने गरेका छन्।

तर जनप्रतिनिधिलाई सही सल्लाह  र विधि सम्मत तरिकारले कार्य सम्पादन गर्न सुझाव दिने जुनसुकै तहका कर्मचारीलाई पनि भित्तामै पुगाउने गरी उक्त समूह सक्रिय छ। जसका कारण कर्मचारी मात्र नभएर धनगढी उप–महानगरपालिका क्षेत्रमा सञ्चालन हुने विकास निर्माण देखि अन्य काम समेत प्रभावित हुदै आएका छन् भने अस्तव्यस्तता बढ्दै जान थालेको छ। 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस