सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुन देशसँग कति आणविक हतियार ?

२०७५ साउन १०, १०:३४

आणविक हतियार सम्पन्न दुई मुलुक अमेरिका र रुसका प्रमुखहरुबीच केही समय अघि मात्र भेटवार्ता भएको थियो ।
 सो भेटवार्ताका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्प र भ्लाद्मिर पुटिनबीच हतियार नियन्त्रणको विषयमा पनि गम्भीर वार्ता भएको बताइएको छ ।
सीबीएनसीका अनुसार बैठकपूर्व ट्रम्पले यस्तो बयान दिएका थिए, ‘पूर्णरुपमा हतियार मुक्त हुनु सबैको सपना हो तरपनि व्यवहारिक रुपमा विश्व शान्तिका निम्ति हामी हतियार न्युनिकरणमा प्रभावकारी प्रयास जारी राख्नेछौँ ।’ 
त्यसैगरी राष्ट्रपति पुटिनले पनि अन्तर्राष्ट्रिय सुरक्षा कायम राख्न अमेरिका र रुसमाथि सबैभन्दा ठूलो जिम्मेवारी रहेको बताएका हुन् ।
यही विषयमा हतियार नियन्त्रण संघ र अमेरिकी वैज्ञानिकको फेडेरेसनले विभिन्न तथ्याङ्कका आधारमा कुन देशसँग कति सङ्ख्यामा आणविक हतियार संकलित छन् भन्नेबारे खुलासा गरेको छ ।
उत्तर कोरियाः 
 आणविक हतियारकै कारण बारम्बार चर्चामा आउने गरेको उत्तर कोरियासँग रहेका मिसाइलहरु विश्वका निम्ति सबैभन्दा ठूलो खतरा हुन सक्ने विश्लेषकहरु बताउँछन् ।
 थोरै सङ्ख्यामा भएपनि उत्तर कोरियाले कुनैपनि समय यी हतियारको प्रयोग गर्न सक्ने हुनाले नै यसलाई गम्भीर समस्याका रुपमा लिइएको हो ।
 उत्तर कोरियाले पछिल्लोपटक २०१७ सेप्टेम्बरमा मा हाइड्रोजन मिसाइल लन्च गरेको थियो । ६ पटक मिसाइल परीक्षण गरिसकेको उत्तर कोरियासँग आणविक हतियार मात्र १० देखि २० वटासम्म हुन सक्ने अध्ययनले देखाएको छ ।
इजरायलः 
 अहिलेसम्म कुनै आणविक हतियार परीक्षण नगरेपनि इजरायलसँग करिब ८० को सङ्ख्यामा आणविक हतियारहरु संकलित रहेको तथ्याङ्कले देखाएको छ ।
भारतः 
 भारतले पनि यस सूचीमा आफ्नो स्थान सुनिश्चित गर्दै आएको छ । छिमेकी चीनसँग बारम्बार विवादमा आइरहँदा भारतले पनि १२० देखि १३० को सङ्ख्यामा आणविक हतियार संचित गरि राखेको बताइन्छ । 
भारतले अहिलेसम्म ३ पटक परीक्षण गरिसकेको छ भने यसको सुरुवात चाहिँ सन् १९७४ मा गरेको थियो ।
पाकिस्तानः 
 भारतलाई टक्कर दिँदै पाकिस्तानले पनि १३० देखि १४० को सङ्ख्यामा आणविक हतियारहरु सुरक्षित राखेको बताइएको छ । पाकिस्तानले पहिलो परीक्षण सन् १९९८ मा गरेको थियो । 
बेलायतः
४५ पटकसम्म परीक्षण गरिसकेको बेलायतसँग आणविक हतियारहरु मात्र करिब २१५ को सङ्ख्यामा रहेको तथ्याङ्कले देखाएको छ ।
चीनः 
 बेलायतलाई उछिन्दै चीनले भने २७० वरिपरिको सङ्ख्यामा आणविक हतियार संकलन गरेको छ । ४५ पटक परीक्षण गरिसकेको चीनले सन् १९६४ मा पहिलो आणविक मिसाइल लन्च गरेको थियो ।
फ्रान्सः
 फ्रान्स पनि आणविक हतियार राख्नमा अगाडि नै रहँदै आएको छ । फ्रान्ससँग करिब ३०० को सङ्ख्यामा आणविक हतियार रहेको छ । तरपनि १९९६ पछि फ्रान्सले कुनै आणविक मिसाइल परीक्षण गरेको छैन ।
अमेरिकाः 
 राष्ट्रपति डोनाल्ड ट्रम्पले हतियार निर्माणको प्रतिस्पर्धा हाल सबैभन्दा ठूलो समस्या भएको बताइरहेपनि उनको आफ्नै देश यस सूचीमा दोस्रो स्थानमा पर्दछ । 
अहिले अमेरिकासँग करिब ६,५५० को आसपासमा आणविक हतियारहरु छन् । १९९२ देखि कुनै परीक्षण नगरेको भएपनि अमेरिकाले त्यसअघि नै हजार भन्दा बढीपटक आणविक हतियार लन्च गरिसकेको छ । 
रुसः
गतवर्ष चुनाव अभियानकै क्रममा राष्ट्रपति पुटिनले आफ्नो देशको आणविक शक्ति विरुद्ध कसैले लड्न नसक्ने उल्लेख गरेका थिए । 
उनको भनाइ अनुरुप नै रुससँग करिब ६८०० को सङ्ख्यामा आणविक हतियारहरु रहेका छन् । केही दिन अगाडि मात्र रुसले थप आणविक अस्त्रहरु सार्वजानिक गरेको थियो जसमध्ये हाइपरसोनिक मिसाइलको सबैभन्दा बढी चर्चा भएको हो ।

कमेन्ट लोड गर्नुस