दार्चुला सदरमुकामबाट ब्यास जाने बाटो नहुँदा जोखिम मोलेर यात्रा
दार्चुला: सदरमुकाम खलङ्गाबाट ब्यास जान घोरेटो बाटो ठाउँ ठाउँमा अवरुद्ध छ। ब्यास गाउँपालिका–२ को तम्बाकु र मौराभेलमा बाटो नै छैन्। बाटो नहुँदा गाउँसम्म पुग्न सक्ने अवस्था छैन् ।
दुई वटा तारमार्फत महाकाली तरेर स्थानीयवासी घर फर्किदै आएकोमा अहिले महाकाली नदीमा पानीको सतह बढेका कारण बाटो बन्द छ। मौरा भेलमा पूरै डाँडा चढेर ह्ँिनुपर्ने बाध्यता रहेको ब्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहरा बताउछन्।
अहिलेको अवस्थामा गाउँबाट खलङ्गा आउतजावत गर्न सकिदैन। महाकाली नदी पूरै बढेको छ। ठाउँ ठाउँमा बाटो भत्किएका छन् भने पहिरो गएको छ। कल्जु खोलाले झोलुङ्गे पुल पूरै बगाएको छ। तम्बाकु क्षेत्रमा ठाउँ ठाउँमा स्थानीय तह र प्रदेश सरकारबाट निर्माण गरिएका बाटा पुनः भत्किएका छन्।
सदरमुकाम खलङ्गाबाट चार दिनको पैदलदुरीमा पुगिन्छ दार्चुलाको ब्यास गाउँपालिका–१ छाङ्गरु र छाङ्गरुबाट झण्डै चारदेखि पाँच घण्टाको दूरीमा पर्छ तिङ्कर गाउँ। यो गाउँसम्म पुग्न नेपाल सरकारले अहिलेसम्म घोरेटोबाटो समेत निर्माण गर्न सकेको छैन्।
यो गाउँका नागरिकलाई अहिले आफ्नै भूमि भएर गाउँ जान घोरेटो बाटो नहुँदा समस्यामा छन्। आफ्नै भूमि भएर गाउँ जान नपाएका स्थानीयवासीले गत वैशाख र जेठमा बसाइँसराइ सर्दा केहिले भारतीय भूभाग प्रयोग गरे भने केही स्थानीयवासीलाई अझै कुञ्चा गाउँ पु¥याउन सकेका छैनन्।
नेपाल सरकारले भारतद्वारा अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा समेटेर सार्वजनिक गरेपछि यो क्षेत्रका नागरिक झन समस्यामा परेका छन्। विगतमा भारतीय बाटो हुँदै आवतजावत गर्दै गरेका स्थानीयवासी भारतसँगको सम्बन्धमा उतार चढाव आएपछि निराश छन्।
ब्यासी सौका समुदायको जनैपूर्णिमाको दिन ठूलो पूजाआजा हुने गरेको छ। व्यासीको बसोवास अहिले पनि खलङ्गामा रहेको कारण उनीहरुलाई गाउँ गएर पूजा गर्न समस्या भएको भन्दै ब्यासीले सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहलाई ब्याससम्म पुग्ने वैकिल्पक व्यवस्थापनको लागि माग गरेका छन्।
साउन १९ गते हुने जनैपूर्णिमाका लागि सहुलियत भाडादरमा हेलिकप्टरको व्यवस्थापन गरेर ब्यासका छाङ्गरु र तिङ्करका स्थानीयवासीलाई गाउँसम्म पुग्ने व्यवस्थापन गर्न माग गर्दै मन्त्री शाहलाई वडा कार्यालयले ज्ञापनसमेत बुझाएको हो। “यो हाम्रो सांस्कृतिक चाड हो,” ब्यासका स्थानीयवासी जहेन्द्र ऐतवालले भने, “अरु बेला गाउँ नगए पनि पूजापाठको बेला गाउँ पुग्नुपर्ने हुन्छ।”
ब्यासको छाङ्गरु र तिङ्कर हुँदै कालापानी क्षेत्रको निरीक्षणमा पुगेका मन्त्री शाहलाई ब्यास गाउँपालिकाका अध्यक्ष अशोकसिंह बोहराको नेतृत्वको टोली दार्चुला सदरमुकाम खलङ्गामा हेलिकप्टरको व्यवस्थापन गर्न माग गर्दै ज्ञापन बुझाएका हुन्। वडाध्यक्ष बोहरा र वडा सचिव विनोदसिंहले तिङ्करी पनि बाटो नहुँदा छाङ्गरु र तिङ्करसम्म पुग्न नसकिएको बताए। गाउँसभाको लागि सदरमुकाम खलङ्गा झरेका वडध्यक्ष बोहराले भने “गाउँ फर्किन बाटो छैन्। अब गाउँका स्थानीयवासीलाई पूजापाठ गर्न कसरी लिने भन्ने समस्यामा छौ।”
“नेपालको दार्चुला जिल्लामा मात्रै बसोवास रहेको सौका समुदायका छुट्टै रहनसहन, वेषभूषा, रीतिरिवाज र संस्कृति रहेको छ। विगतका वर्षमा प्रयोग गरिँदै आएको खलङ्गा तिङ्कर घोरेटोबाट पूर्णरुपमा भत्केको र पछिल्लो समय कालापानी बिबादले चिसिएको नेपाल भारत सम्बन्धका कारण भारतबाट तिङ्करसम्म जान सकिने अवस्था छैन”, बोहराले भने, “अहिलेलाई पूजापाठको लागि वैकल्पिक व्यवस्थापन हेलिकप्टर हुनसक्छ।”
दार्चुला तिङ्कर सडक अन्तर्गत घाँटीबगर क्षेत्रमा नेपाली सेनाले अहिलेसम्म झण्डै २५० मिटर मात्रै घोरेटोबाटो खोलेको छ। कूल साढे ४०० मिटरमध्ये अझै पूरै बाटो खोल्न दुई तीन महिना बढी लाग्नसक्छ, मन्त्री शाहले भने, “जोखिमपूर्ण क्षेत्रमा सेनाले बाटो खोल्दैछ। अहिले नै बाटो खुल्ने अवस्था छैन्।” पहाड फोडेर बाटो बनाउनुपर्ने काम निकै जटिल छ। एकातिर महाकालीको बहाव बाटो नजिकै पुग्छ भने अर्कोतिर पारीपट्टी भारतले पनि सडक विस्तारको काम जारी छ।
नागरिकले आफ्नै भूमी भएर गाउँसम्म जान नपाउनु बिडम्बना भएको ब्यासका स्थानीयवासी दीपक खातीको भनाइ छ। उनले भने “तीन तहको सरकार छ। तर पनि यहाँका नागरिकले आफ्नो गाउँ पुग्न भारतीय सहारा माग्नुपरेको छ। बाटोघाटो छैन्। विकासको नाममा झाडी फाड्ने काम भएको छ। अहिले पनि स्थानीयवासीको कुञ्चा नेपालतिर बाटो नहुँदा गाउँ पुगेको छैन्।” यो क्षेत्रका नागरिकले राज्य भएको अनुभूति अझै गर्न नपाएको खातीको भनाइ छ।
ब्यासको छाङ्गरु र तिङ्कर गाउँ पुग्ने बाटो निर्माणका लागि प्रदेश सरकारले यो वर्ष ३० लाख स्थानीय सरकार र सङ्घीय सरकारले पनि यो क्षेत्रमा लाखौँ खर्च गर्दैछन्। तर पनि यो क्षेत्रका नागरिकलाई दशँै अगावै यो क्षेत्रमा नियमित बाटो सुचारु हुने अवस्था नरहेको स्थानीयवासी बताउँछन्।