सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका पत्रकार सिंहद्धारा कुपोषितलाई आर्थिक सहयोग

२०७७ साउन १२, १०:११ खबर संवाददाता

बाजुराः बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर १ कीपुर्वा दमाई गत साता दुई महिनाको छोरो सहित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पुगिन्। कुपोषणको समस्या रहेका छोरा दत्तको स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि उनलाई जिल्ला अस्पताल बाजुरा जान भनियो। तरपुर्वासँग छोरालाई जिल्ला अस्पताल लैजान पैसा थिएन।

छोरा पाउँने आशामा पूर्वाले १३ सन्तान जन्माईन। ६ जन्मदै मृत्यु भयो, ६ छोरी घरमै छन्। सातौं सन्तान जगत जन्मेपछि पूर्वा असाध्यै खुसी भइन्। तर छोरो दुई महिना सम्म नबढ्ने भएपछि उनलाई डर लाग्यो। छोरोको उपचार गराउन गएकी उनीप्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुननसक्ने भनेपछि झन आत्तिईन्।

आर्थिक अभावमा अस्पताल जानुको सट्टा उनी फर्केर घर गईन्।  उक्त खवर बाजुराका  पत्रकार प्रकाश सिंहले सुने। उनले कुपोषित दत्तलाइ अस्पताल लैजान पूर्वालाई सहयोग गरे। गाडी भाडा, पोषणयुक्त सामग्रीका लागि गरी प्रकाशले २७ हजार रुपैँया बराबरको सहयोग गरे पूर्वालाई। हाल जगतको स्वास्थ्य अवस्थामा सुधार आएको छ।

जगन्नाथ गाँउपालिका वडा नम्बर ५ मापुतली रावलको बच्चा पाएको चार घण्टा नबित्दै मृत्यु भयो। उनको नव शिशु सहित चार नाबालक छोराछोरी अलपत्र परे। पत्रकार सिंहले शिशुका लागि एक महिना सम्म पुग्ने दुध र अन्य तीन बालबालिकाका लागि लुगा कपडा र खाद्यन्न सहयोग गरे। त्यस्तै स्वामिकार्तिक गाउँपालिका वडा नम्बर १ साप्पाटाकी बसन्तीलुवारको उपचार अभावका कारण मृत्यु भयो। उनका नाबालक दुई कुपोषित बालबालिकालाई पनि सिंहले सहयोग गरे।

बसन्ती र पुतलीका बालबालिकालाई सिंहकै पहलमा उद्दार गरी अहिले एसओएस बालग्रामको संरक्षणमा रहेका छन्। नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष समेत रहेका पत्रकार सिंहले गत वर्ष नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इन्जा) द्वारा स्थापित सामुदायिक पत्रकारिता पुरस्कार पाएका थिए।

उनले पोषणको क्षेत्रमा समाचार लेखेकै कारण उक्त पुरस्कार प्राप्त गरेका थिए। आफुले पुरस्कार वापत पाएको पाँच सय अमेरिकी डलर सिंहले कुपोषित बालबालिकामै खर्च गरे। पुरस्कार पाएको बेला सिंहले अलपत्र परेका, कुपोषित तथा उपचार नपाएका बालबालिकालाई सहयोग गर्ने घोषण गरेका थिए।

“मैले कुपोषणको सिकार भएर उपचार नपाएका बालबालिकाको कथा लेखेरै उक्त पुरस्कार पाएको हुँ” पत्रकार सिंह भन्छन्, ‘त्यसैले उक्त रकम कुपोषित बालबालिकाकै क्षेत्रमा खर्च गरेँ।’ उनले“ कुपोषित बाजुरा”शिर्षकमा छापेको समचारले पुरस्कार जितेका थिए।

सानो रकमले ठुलो सहयोग नभएपनि कुपोषणको चपेटामा परेका केही बालबालिकालाई लिटो खुवाउन र एक हजार नपाएर उपचार अभावमा तड्पिरहेका बालबालिकालाई सहयोग भएको उनी बताउँछन्।

सिंहले महासंघको अध्यक्ष भएको हैसियतले विभिन्न कार्यक्रमबाट पाउने भत्ता पनि सामाजिक सेवामा खर्च गरिरहेका छन्। उनले तीन वर्षमा भत्ता वापत प्राप्त गरेको रकम ५८ हजार पाँच सय असहायलाई सहयोग गरेका छन्। सिंह सामाजिक अभियान्ता पनि हुन्। 
 

कमेन्ट लोड गर्नुस